दशैंका लागि अग्रिम टिकट बुकिङ असोज २३ देखि खुल्ने

अनलाइनसमय |
२० असोज २०८३
दशैंका लागि अग्रिम टिकट बुकिङ असोज २३ देखि खुल्ने

काठमाडौं, २० असोज । यस वर्षको दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ २३ असोजदेखि खुला हुने भएको छ । यातायात व्यवस्था विभागमा मंगलबार नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौला, विभागका महानिर्देशक राजीव पोखरेलसहितका पदाधिकारीसहित बसेको बैठकले सो निर्णय गरेको हो ।

बैठकपछि महानिर्देशक पोखरेलले दसैँमा यात्रुको सहज, सुरक्षित र व्यवस्थित आवागमन सुनिश्चित गर्न २३ असोजदेखि अग्रिम टिकट बुकिङ खुला गरिने जानकारी दिए ।

यस वर्षको दशैं अवधिमा १० लाखभन्दा बढी यात्रुले काठमाडौं उपत्यका छाड्ने आकलन गरिएको छ । अग्रिम टिकट बुकिङ नखुल्दा र केही कम्पनीले मात्र अनलाइन बुकिङ लिइरहँदा सर्वसाधारण यात्रुमा छाएको अन्योल यस निर्णयसँगै हटेको छ ।

बैठकले यात्रुको सुरक्षा, सुविधा र यातायात व्यवस्थापनलाई मर्यादित बनाउन विभिन्न महत्त्वपूर्ण निर्णयहरू पनि गरेको छ । निर्णयअनुसार, लामो दूरीका सवारीसाधनमा अनिवार्य रूपमा दुई जना चालक राख्नुपर्नेछ । टिकट काउन्टरमा बस्ने कर्मचारीले अनिवार्य रूपमा परिचयपत्र र युनिफर्म लगाउनुपर्नेछ भने, टिकट काट्दा यात्रुको नाम र सम्पर्क नम्बर अनिवार्य रूपमा अभिलेख राख्नुपर्नेछ ।

चाडपर्वको मौका छोपेर तोकिएको भन्दा बढी भाडा असुल गर्ने, कालोबजारी गर्ने र टिकटमा अनियमितता गर्ने जोकोहीमाथि कडा कानुनी कारबाही गरिने चेतावनी विभागले दिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस