काठमाडौं, १५ भदौ । भोटेकोशी बाढीका साथै अविरल वर्षाका कारण पहिरो खस्दा विभिन्न राजमार्ग अवरुद्ध भएका छन् ।
प्रहरी प्रधान कार्यालयका अनुसार पृथ्वीराजमार्गअन्तर्गत बेनिघाट रोराङ गाउँपालिका–७ कृष्णभिरस्थित त्रिशूली नदीले कटान गर्दा सडक भासिन गई मानिससमेत आवतजावत गर्न नसक्ने गरी पूर्ण रुपमा अवरुद्ध भएको छ । त्यस्तै, धादिङको गजुरी गाउँपालिका–२ स्थित परेवाभिरमा पनि बाढीको कारण सडकको तल्लो भाग भासिएको कारणले पूर्ण रुपमा अवरुद्ध भएको छ ।
मुगुबाट गमगढी आउने सडक पनि अविरल वर्षाको कारणले अवरुद्ध भएको छ । सिन्धुपाल्चोकको कोदारीमा पहिरो खस्दा अरनिको राजमार्ग पनि पूर्ण रुपमा अवूद्ध छ ।
इलाम नगरपालिका–९ राजदुवाली (झापा–ताप्लेजुङ सडक खण्ड) मा लगातारको वर्षाका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । यद्यपि, सो क्षेत्रमा वैकल्पिक बाटोमार्फत यातायात सञ्चालनको व्यवस्था मिलाइएको छ ।
बाढीको जोखिमलाई मध्यनजर गर्दै वि.पि. राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी खण्डमा साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सम्पूर्ण सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । परिस्थिति हेरेर बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म मात्र सवारी साधन सञ्चालन गर्न दिइने प्रहरीले जनाएको छ ।
मकवानपुरको कान्तिलोकपथ (हेटौँडा–ठिंगन–बागमती–ललितपुर) मा बाढी र पहिरोको जोखिमका कारण अर्को सूचना नभएसम्मका लागि साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ ।
यस्तै, नुवाकोटको टोखा–छहरे सडक खण्ड (शिवपुरी–८, घट्टेखोला) मा राति २ बजेदेखि बिहान ५ बजेसम्म यात्रामा प्रतिबन्ध लगाइएको छ भने पसाङ ल्हामु सडक खण्ड बाढीका कारण पूर्ण रूपमा अवरुद्ध बनेको छ ।
रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टे स्थित त्रिशुली–मैलुङ–स्याफ्रुबेँसी सडक खण्ड पनि बाढीका कारण लामो समयसम्मका लागि पूर्ण रूपमा अवरुद्ध भएको छ ।