फोहोर व्यवस्थापनसहितका विषयमा प्रधानमन्त्रीलाई भेट्ने मेयर्स फोरमको निर्णय

अनलाइनसमय |
९ भदौ २०८३
फोहोर व्यवस्थापनसहितका विषयमा प्रधानमन्त्रीलाई भेट्ने मेयर्स फोरमको निर्णय

काठमाडौं, ९ भदौ । काठमाडौं उपत्यकाका स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरूको सञ्जाल काठमाडौं उपत्यका मेयर्स फोरमले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटेर उपत्यकाका प्रमुख समस्या समाधानका लागि ध्यानाकर्षण गराउने भएको छ ।

मंगलबार बसेको फोरमको आकस्मिक बैठकले प्रधानमन्त्रीसँग तत्काल भेटको समय माग गरी फोहोर व्यवस्थापन, सडक बत्तीको शुल्क, स्थानीय तहले प्रयोग गरिरहेका जग्गाको भोगाधिकार तथा फोहोर व्यवस्थापनका लागि आवश्यक जग्गा व्यवस्थापनलगायत विषय उठाउने निर्णय गरेको हो ।

फोरमले प्रधानमन्त्रीसँगको भेटमा सिंहदरबारमा २०८३ भदौ ५ गते भएको फोहोर व्यवस्थापनसम्बन्धी बैठकमा फोरमका पदाधिकारी तथा सदस्यप्रति सांसद आशिका तामाङबाट भएको व्यवहारप्रति समेत आपत्ति जनाउने जनाएको छ ।

उपत्यकाको फोहोर व्यवस्थापनको विषय प्रधानमन्त्री शाह काठमाडौं महानगरपालिकाको प्रमुख रहँदादेखि नै फोरमको प्राथमिकतामा रहँदै आएको थियो । तत्कालीन सरकार र नेप वेस्टबीच भएको सम्झौता कार्यान्वयन गर्ने वा सम्झौता खारेज गरी फोहोर व्यवस्थापनका लागि नयाँ बाटो खोल्ने विषयमा फोरमभित्र पटक–पटक छलफल हुँदै आएको थियो ।

फोरमका अध्यक्ष चिरीबाबु महर्जनले जारी गरेको विज्ञप्तिमा उपत्यकाको फोहोर व्यवस्थापन तीनै तहका सरकारको साझा सरोकारको विषय भएकाले यसको दीर्घकालीन समाधानका लागि स्थानीय सरकार प्रतिबद्ध रहेको उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस