काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेशसभाबाट विश्वासको मत लिनुअघि नेपाली कांग्रेसले विपक्षमा मतदान गर्न आफ्ना सांसदहरूलाई निर्देशन दिएको छ ।
कांग्रेस बागमती प्रदेश संसदीय दलले भदौ ८ गते सोमबार बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री थापाले प्रस्तुत गर्ने विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्न सांसदहरूलाई ह्विप जारी गरेको हो ।
कांग्रेस संसदीय दलका प्रमुख सचेतक पुकार महर्जनले जारी गरेको पत्रमार्फत प्रदेशसभा बैठकमा अनिवार्य उपस्थित हुन, तटस्थ नबस्न र मुख्यमन्त्रीको प्रस्तावको विपक्षमा मतदान गर्न सांसदहरूलाई निर्देशन दिइएको छ ।
प्रदेशसभा बैठक सोमबार दिउँसो १ बजे बोलाइएको छ । नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा बागमती प्रदेशसभा नियमावली, २०७४ को नियम १४३ अनुसार मुख्यमन्त्री थापाले विश्वासको मत लिन लागेका हुन् ।