काठमाडौं, २ भदौ । चालू आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना (साउन) मा ७० हजार बढी नेपाली कामको खोजिमा विदेश गएका छन् ।
वैैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार साउनमा वैदेशिक रोजगारीका लागि ७० हजार ४४१ श्रम स्वीकृति लिएका छन्, जुन गत आवको सोही अवधिको तुलनामा ३ दशमलव ४२ प्रतिशतले बढी हो । गत आवको एक महिनामा ६८ हजार ११० जनाले श्रम स्वीकृति लिएर विदेश गएका थिए ।
चालू आवको साउनमा ९ हजार ९६९ महिला र ६० हजार ४७२ पुरुषले श्रम स्वीकृति लिएका हुन् । गत वर्षको सोही महिनामा यस्तो सङ्ख्या क्रमश : ९ हजार १६२ र ५८ हजार ९४८ थियो ।
एक महिनामै ४२ हजार बढीले लिए नयाँ श्रम स्वीकृति
विभागका अनुसार साउनमा नयाँ श्रम स्वीकृति लिएर ४२ हजार ६९३ जना वैदेशिक रोजगारीमा गएका छन्, जसमध्ये महिला ६ हजार ३५४ र पुरुष ३६ हजार ३३९ जना छन् ।
यस्तै संस्थागतबाट २६ हजार २९७ पुरुष र ३ हजार १५० जना महिलाले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा गएका छन् । साउनमा व्यक्तिगततर्फबाट ९ हजार ३४६ पुरुष र ३ हजार ९६ महिलाले श्रम स्वीकृति लिएका छन् भने व्यक्तिगततर्फबाट पुनः श्रम स्वीकृति लिएर २७ हजार ७४८ जना वैैदेशिक रोजगारीमा गएका छन् । साथै जी.टु.जीमार्फत ७१२ जनाले वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएका छन् ।
नेपालीको आकर्षण युएईमा
विभागका अनुसार साउनमा रोजगारीका लागि १ सय १४ देशमा नेपाली श्रम स्वीकृति लिएर गएका छन् । विभिन्न देशमध्ये नेपालीको श्रम गन्तव्य सबैभन्दा धेरै यूएई रहेको छ । चालू आवको साउनमा ११ हजार ४२२ जनाले श्रम स्वीकृति लिएर यूएई गएका छन्, जसमध्ये ९ हजार ७१० पुरुष र १ हजार ७२१ महिला छन् ।
नेपाली युवा रोजगारीका लागि युएईपछि सबैभन्दा धेरै मलेसिया गएका छन् । यस देशका लागि साउनमा मात्रै ८ हजार ९४४ पुरुष र २३५ महिलाले श्रम स्वीकृति लिएका छन् । त्यस्तै कतारका लागि २ हजार ६१९, साउदी अरब जान ३ हजार ६१३ र कुवेतका लागि २ हजार ९६५ जनाले श्रम स्वीकृति लिएका छन् ।