काठमाडौं, १८ साउन । ग्रीसमा डढेलो नियन्त्रणमा लिने क्रममा आकाशमै दुई हेलिकप्टर आपसमा ठोक्किँदा चालक दलका दुई सदस्यको मृत्यु भएको छ ।
ज्यान गुमाउनेमा एक डेनिस पाइलट र ग्रीक अग्नि नियन्त्रण निकायका सम्पर्क अधिकृत रहेका छन ्। त्यस्तै अर्को हेलिकप्टरमा सवार ब्रिटिस पाइलट र एक ग्रीक समन्वयकर्ता भने सकुशल रहेका बताइएको छ ।
राजधानी एथेन्सबाट करिब ६५ किलोमिटर पश्चिममा भएको उक्त दुर्घटनाको भिडिओमा एउटा हेलिकप्टर अर्को हेलिकप्टरको ’पङ्खा’मा ठोक्किएको देखिन्छ। त्यसपछि एउटा हेलिकप्टरमा आगो लागेर नजिकैको भिरालो स्थानमा खसेको थियो भने अर्कोले आकस्मिक अवतरण गरेको थियो ।
ग्रिक अग्नि सेवाका अनुसार अस्ट्रेलियाली कम्पनी ‘मेकडर्मोट एभिएसन’बाट भाडामा लिइएका ती दुई बेल हेलिकप्टरहरू आइतबार एथिका–बोयोटिया सीमा क्षेत्रमा फैलिएको ठूलो डढेलो निभाउने कार्यमा संलग्न थिए ।
यो साता ग्रीसका विभिन्न क्षेत्रमा डढेलो फैलिएको छ । त्यसले गर्दा ठूलो सङ्ख्यामा स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ । लामो समयदेखिको अत्यधिक गर्मीका कारण युरोपका अन्य देशहरू पनि विनाशकारी डढेलोबाट प्रभावित भएका छन् ।
ग्रिसका प्रधानमन्त्री किरियाकोस मित्सोताकिसले दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जाल ‘एक्स’ मा पोस्ट गर्दै ग्रिक संयोजक र डेनिस पाइलटको निधनले सबैलाई शोकाकुल बनाएको भन्दै मृतकका परिवारजनप्रति समवेदना प्रकट गरेका छन् ।
नागरिक सुरक्षा मन्त्रालयका स्रोतका अनुसार घटनापछि देशभरी सञ्चालनमा रहेका सबै बेल हेलिकप्टरहरूको उडान रोकिएको (ग्राउन्डेड गरिएको) छ ।
जीवित बचेका ब्रिटिस पाइलट डढेलोको जोखिमयुक्त मौसमका लागि निजी रूपमा खटाइएका पाइलट थिए । उनी ब्रिटेन र ग्रीसबीचको कुनै आदानप्रदान कार्यक्रमको हिस्सा नरहेको र एथेन्सले ब्रिटेनसँग सहयोगको लागि कुनै अनुरोध पनि नगरेको स्रोतले बताएको छ ।
ग्रीसको समाचार वेबसाइट ‘एकाथिमेरिनी’का अनुसार दुर्घटनामा बचेका दुई जनाले तुरुन्तै हेलिकप्टर ठोक्किएको जानकारी दिएका थिए र उद्धारकर्ताहरूलाई दुर्घटनास्थलसम्म पुग्न सघाएका थिए ।
अहिले पनि ‘एरिक्सन एअर–क्रेन’ र ’चिनूक हेलिकप्टर’का साथै पानी छर्कने ’क्यानाडेअर’ विमानहरूले डढेलो नियन्त्रण गर्ने काम जारी राखेका छन् ।