काठमाडौं, १८ साउन । नारायणगढ–मुग्लिनखण्डमा खसेको पहिरो पन्छाएर दुवैतर्फी रूपमा सडक सञ्चालनमा ल्याइएको छ । आज बिहान सो सडकको विभिन्न ठाउँमा लेदोसहितको पहिरो खस्दा सडक एकतर्फी अवरुद्ध भएको थियो ।
डिभिजन सडक कार्यालय, चितवनका इन्जिनियर अर्जुन घिमिरेका अनुसार तुइनखोला, नाम्सीखोला, सिमलताल, १५ किलो र १७ किलोमा लेदोसहितको पहिरो खसेको थियो । तुइन, नाम्सी र सिमलतालमा एकतर्फी सडक रोकिएको थियो भने अन्य ठाउँमा लेदो खसेर सडकको छेउमा थुप्रिएको थियो । ती ठाउँको पहिरो पन्छाएसँगै बिहान १० बजेपछि सडक पूर्ण रूपमा सञ्चालनमा आएको छ ।
तुइनखोलाको पहिरो त्यस क्षेत्रमा निर्माणको काम गरिरहेको कम्पनीले स्वयम्ले पहिरो पन्छाइरहेको छ । अन्य ठाउँको पहिरो मुग्लिन र सेतीदोभानमा रहेका उपकरण प्रयोग गरी पन्छाइएको छ ।
त्यस क्षेत्रमा जुनसुकै बेला पहिरो खस्न सक्ने भएकाले सावधानीपूर्वक यात्रा गर्न समेत सवारीचालक र यात्रुलाई आग्रह गरिएको छ ।