काठमाडौं, १८ साउन । काठमाडौं उपत्यकासहित देशका विभिन्न जिल्लामा आज साना नदी तथा खोलामा आकस्मिक बाढी आउने जोखिम रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले सार्वजनिक गरेको दैनिक बाढी पूर्वानुमान बुलेटिनअनुसार काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोक भएर बहने साना नदी तथा खोलामा जलसतह उल्लेख्य रूपमा बढ्ने सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।
यस्तै ताप्लेजुङ, झापा, धनकुटा, संखुवासभा, सोलुखुम्बु, उदयपुर, दोलखा, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ र मकवानपुरका साना नदीहरूमा पनि आकस्मिक बाढीको मध्यम जोखिम रहेको महाशाखाले जनाएको छ । त्यसैगरी गोरखा, लमजुङ, तनहुँ, कास्की, पर्वत, म्याग्दी, स्याङ्जा, पाल्पा, गुल्मी, चितवन, नवलपरासी (पूर्व) र नवलपरासी (पश्चिम) आसपासका साना नदीहरूमा समेत जलसतह बढ्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन अनुरोध गरिएको छ ।
यद्यपि आज बिहानसम्मको मापनअनुसार देशका प्रमुख नदीहरूको बहाव भने सामान्य अवस्थामै रहेको छ । महाशाखाका अनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली तथा तिनका सहायक नदीहरूको जलसतह सतर्कता तहभन्दा तल रहेको छ । कन्काई, कमला, बबई, पूर्वी राप्ती तथा पश्चिम राप्ती नदीमा पनि हाल बाढीको कुनै तत्काल जोखिम देखिएको छैन ।