ट्रम्पद्वारा इरानमाथिको आक्रमण स्थगित गरिएको घोषणा

अनलाइनसमय |
१७ साउन २०८३
ट्रम्पद्वारा इरानमाथिको आक्रमण स्थगित गरिएको घोषणा

काठमाडौं, १७ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध प्रस्तावित सैन्य आक्रमण तत्कालका लागि स्थगित गरिएको घोषणा गरेका छन् । उनले आइतबार आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसल मार्फत इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा पुगेको दाबी गर्दै आक्रमण नगर्ने निर्णय गरिएको बताएका हुन् ।

ट्रम्पका अनुसार संयुक्त राज्य अमेरिका पूर्ण रूपमा सैन्य सक्षम भए पनि इरान तथा मध्यपूर्वका केही देशहरूको अनुरोधलाई ध्यानमा राख्दै कूटनीतिक समाधानलाई प्राथमिकता दिइएको हो । दोस्रो विश्वयुद्धपछि अमेरिकासँग सबैभन्दा शक्तिशाली सैन्य क्षमता रहेको उल्लेख गर्दै आवश्यक परे कारबाही गर्न सक्ने उनले बताएका छन् ।

उनले प्रस्तावित सम्झौतामा हर्मुज जलडमरूमध्य (हर्मुज स्ट्रेट) तत्काल, पूर्ण र निर्बाध रूपमा खुला राख्ने व्यवस्था समावेश गरिएको दाबी गरेका छन् । साथै इरानसँग सम्बन्धित आणविक जोखिम अन्त्य गर्ने विषय पनि सम्झौतामा समेटिएको उनको भनाइ छ ।

ट्रम्पले विश्व शान्ति तथा इरानको दीर्घकालीन स्थिरता र समृद्धिलाई ध्यानमा राख्दै आक्रमण रोक्ने निर्णय गरिएको बताएका छन् । उनले यस निर्णयमा इजरायलको पनि समर्थन रहेको दाबी गर्दै सबै पक्षलाई सम्झौतालाई शीघ्र निष्कर्षमा पु¥याउन आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस