पेरूमा पर्यटक बोकेको सानो विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु

अनलाइनसमय |
१७ साउन २०८३
पेरूमा पर्यटक बोकेको सानो विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु

काठमाडौं, १७ साउन । दक्षिण पेरूको नाज्का लाइन्स पुरातात्विक क्षेत्रमाथि उडिरहेको एक सानो पर्यटकीय विमान शनिबार दुर्घटनाग्रस्त हुँदा १३ जनाको मृत्यु भएको नाज्का प्रान्तका अधिकारीहरूले बताएका छन् ।

पेरूको वाणिज्य तथा पर्यटन मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै विमानमा ११ जना विदेशी पर्यटक र दुई जना चालक दलका सदस्य रहेको जनाएको छ । यात्रुहरू इटालेली, जर्मन र स्पेनिस नागरिक रहेको पेरूको यातायात तथा सञ्चार मन्त्रालयले बताएको छ ।

स्थानीय अधिकारीहरूका अनुसार विमान नाज्का शहरबाट लगभग ४ माइल र नाज्का लाइन्स क्षेत्रबाट करिब ७ माइल टाढा रहेको पुएब्लो भिएहो क्षेत्रमा दुर्घटनाग्रस्त भएको थियो । उक्त सानो विमान पेरूको स्थानीय एयरलाइन्स ‘एरोडियाना’को रहेको र यसले पिस्को विमानस्थलबाट उडान भरेको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन् ।
एक विज्ञप्ति जारी गर्दै एरोडियानाले ‘मृतकका परिवार र प्रियजनहरूप्रति हार्दिक समवेदना र एकजुटता’ प्रकट गरेको छ ।

‘हाम्रो १८ वर्षको सञ्चालन अवधिभर, हामीले हाम्रा यात्रुहरू र चालक दलका सदस्यहरूको सुरक्षाप्रति अटल प्रतिबद्धता कायम राखेका छौँ,’ कम्पनीले भनेको छ, ‘यसै कारण, यो घटनाले हामीलाई निकै मर्माहत बनाएको छ र अधिकारीहरूलाई आवश्यक पर्ने जुनसुकै सहयोग गर्न पूर्ण र जिम्मेवार रूपमा तयार रहेको कुरा पुनः पुष्टि गर्दछौँ ।’
स्थानीय सञ्चारमाध्यमलाई प्रहरीले दिएको प्रतिवेदन अनुसार, विमानले अवलोकन उडान पूरा गरी फिर्ता हुने तयारी गरिरहेका बेला दुर्घटना भएको थियो ।

सेस्ना क्याराभान सी–२०८ विमानले दिउँसो १२ः१० बजे पिस्को विमानस्थलबाट उडान भरेको पेरूको यातायात तथा सञ्चार मन्त्रालयले जनाएको छ । विमान सोकोससहरको आसपासमा उडिरहेको बेला दिउँसो १ः०० बजे चालक दलका सदस्यहरूले नास्का विमानस्थलको कन्ट्रोल टावरमा आपत्कालीन अवस्थाको जानकारी गराएका थिए, जसलगत्तै सबै रेडियो सम्पर्क विच्छेद भएको थियो ।

पेरूभियन प्रसारक आरपीपीका अनुसार दुर्घटनापछि विमानमा आगो लागेको हुनाले कुनै पनि उद्धार सम्भव भएन । आगो निभाउन र प्रारम्भिक उद्धार कार्यहरू अघि बढाउन दमकल र नगर प्रहरी अधिकारीहरूलाई घटनास्थलमा खटाइएको थियो । दुर्घटनाको कारण भने खुल्न सकेको छैन र स्थानीय अधिकारीहरूले यसको अनुसन्धान गर्ने बताएका छन् ।

सामाजिक सञ्जालमा सेयर गरिएका भिडियोहरूमा सुख्खा मरुभूमि क्षेत्रमा एउटा सानो विमानको धुवाँ निस्किरहेको भग्नावशेष देखिएको छ । देशको दक्षिणी भागको मरुभूमिमा कोरिएका विशाल चित्रहरू र ज्यामितीय आकृतिहरूयुक्त ’नाज्का लाइन्स’ पेरूको प्रमुख पर्यटकीय गन्तव्यहरूमध्ये एक हो, जसले वार्षिक रूपमा लगभग १ लाख पर्यटकहरूलाई आकर्षित गर्दछ । पर्यटकहरूले सामान्यतया यस क्षेत्रमाथि ससाना विमानमा उडेर यी दृश्यहरूको अवलोकन गर्छन् ।

२५ माइल प्रतिघन्टाभन्दा बढी गतिमा चलेको हावाका कारण धुलो उडेर दृष्टि कम भएपछि नजिकैको मारिया राइके विमानस्थलबाट नाज्का लाइन्सका लागि हुने उडानहरू शुक्रबार स्थगित गरिएका थिए ।

स्थानीय सञ्चारमाध्यमका अनुसार तीव्र हावाका कारण दुई जना पेरूभियन पर्यटक बोकेको एक सानो विमान र छ जना विदेशी पर्यटक बोकेको अर्को विमानलाई मार्कोना विमानस्थलतर्फ मोड्नु परेको थियो ।

एरोडियानाले ‘सम्बन्धित निकायहरूको निर्देशन अनुसार’आफ्नो उडान तालिकाको मूल्याङ्कन गर्ने बताएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस