गोपालमान श्रेष्ठको निधनमा कांग्रेसद्वारा तीन दिन शोक घोषणा

अनलाइनसमय |
१३ साउन २०८३
गोपालमान श्रेष्ठको निधनमा कांग्रेसद्वारा तीन दिन शोक घोषणा

काठमाडौं, १३ साउन । नेपाली कांग्रेसले पार्टीका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनप्रति दुःख व्यक्त गर्दै तीन दिन शोक मनाउने निर्णय गरेको छ ।

७९ वर्षको उमेरमा ललितपुरको जावलाखेलस्थित हेलिअस अस्पतालमा उपचारका क्रममा मंगलबार श्रेष्ठको निधन भएपछि बुधबार बिहान बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले शोकसम्बन्धी विभिन्न कार्यक्रम सार्वजनिक गरेको हो ।

पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार साउन १३, १४ र १५ गतेसम्म कांग्रेसका केन्द्रीय, प्रदेश तथा जिल्ला कार्यालयहरूमा पार्टीको झण्डा आधा झुकाइनेछ । यस्तै, साउन १४ गते देशभरका पार्टी कार्यालय बन्द रहनेछन् भने श्रेष्ठको निधनको १३ दिनसम्म सबै तहका कार्यालयमा शोक पुस्तिका राखिने निर्णय गरिएको छ ।

कांग्रेसले स्वर्गारोहणको १३औँ दिन श्रेष्ठको गृह जिल्ला स्याङ्जामा श्रद्धाञ्जली सभा आयोजना गर्ने जनाएको छ ।

पार्टीले श्रेष्ठको निधनलाई नेपाली कांग्रेस र राष्ट्रका लागि अपूरणीय क्षति भएको उल्लेख गर्दै लोकतान्त्रिक आन्दोलन, पार्टी संगठन र राष्ट्रिय राजनीतिमा उनले पु¥याएको योगदानको उच्च मूल्यांकन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस