काठमाडौं, ७ साउन । उत्तरपश्चिमी नाइजेरियाको जामफरा राज्यका विभिन्न गाउँमा बुधबार सशस्त्र बन्दुकधारी समूहले गरेको श्रृङ्खलाबद्ध आक्रमणमा कम्तीमा २३ जनाको मृत्यु भएको छ । स्थानीय अधिकारीहरूका अनुसार अधिकांश मृतक खेतमा काम गरिरहेका किसान हुन् ।
स्थानीय समयअनुसार अपराह्न करिब ३ बजे बन्दुकधारीहरूले गाउँमा प्रवेश गरी अन्धाधुन्ध गोली चलाएको तलाटा माफारा स्थानीय सरकारी क्षेत्रअन्तर्गत पर्ने सौना जिल्लाका काउन्सिलर नसिरु लौवालीको भनाइ उद्वत् गर्दै एएफपीले लेखेको छ । उक्त आक्रमणमा मात्रै कम्तीमा २१ जनाको ज्यान गएको काउन्सिलर लौवालीले बताए ।
सौना जिल्लाका सचिव अल्हाजी सेहु गर्बाका अनुसार बन्दुकधारीहरूले पाँचवटा गाउँलाई लक्षित गरी आक्रमण गरेका थिए । घटनामा २३ जनाको मृत्यु भएको पुष्टि गर्दै उनले अधिकांश पीडित किसान रहेको जानकारी दिए ।
आक्रमणमा घाइते भएका तीन जनालाई प्रारम्भिक उपचारका लागि तलाटा माफारा जनरल अस्पताल लगिएको थियो । उनीहरूको अवस्था गम्भीर बनेपछि थप उपचारका लागि छिमेकी सोकोटो राज्यस्थित शिक्षण अस्पतालमा रेफर गरिएको अधिकारीहरूले बताएका छन् ।
घटनापछि स्थानीय बासिन्दामा त्रास फैलिएको छ । यद्यपि घटनाबारे नाइजेरियाली प्रहरीले तत्काल कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन ।
उत्तरपश्चिम र मध्य नाइजेरियामा लामो समयदेखि सक्रिय ‘डाकु’ नामले चिनिने सशस्त्र आपराधिक गिरोहहरूले गाउँमा आक्रमण, गाईवस्तु लुटपाट, फिरौतीका लागि अपहरण तथा सामूहिक हत्या जस्ता हिंसात्मक गतिविधि गर्दै आएका छन् । ती समूहका कारण जामफरा लगायतका क्षेत्रमा सुरक्षा चुनौती निरन्तर बढ्दै गएको छ ।