काठमाडौं, ६ साउन । सरकारले शिक्षा तथा स्वास्थ्य सेवामा लाग्दै आएको समता शुल्क पूर्ण रूपमा हटाउने निर्णय गरेको छ ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले आर्थिक ऐनअन्तर्गत लागू रहेको ’शिक्षा समता शुल्क’ र ’स्वास्थ्य समता शुल्क’ पूर्ण रूपमा मिनाहा गर्ने निर्णय भएको जानकारी दिए ।
उनका अनुसार उक्त निर्णय लागू भएसँगै अब विद्यालय, कलेज, अस्पताल तथा स्वास्थ्य संस्थाले शिक्षा समता शुल्क वा स्वास्थ्य समता शुल्कका नाममा कुनै पनि अतिरिक्त रकम असुल्न पाउने छैनन् ।
यसअघि प्रधानमन्त्री बालेन शाहले यी शुल्क हटाउने विषयमा सार्वजनिक रूपमा संकेत गरेका थिए । बुधबारको मन्त्रिपरिषद् बैठकले भने त्यसलाई औपचारिक स्वीकृति दिएको हो ।