पहिरोले आठ सडक अवरुद्ध, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन रोक

अनलाइनसमय |
६ साउन २०८३
पहिरोले आठ सडक अवरुद्ध, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन रोक

काठमाडौं, ६ साउन । अविरल वर्षा, पहिरो र बाढीको जोखिमका कारण देशका विभिन्न भागका प्रमुख राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन् ।
नेपाल प्रहरीले सार्वजनिक गरेको विवरण अनुसार पहिरोका कारण मुख्य ८ वटा सडक खण्ड पूर्ण तथा आंशिक रूपमा अवरुद्ध भएका हुन् ।

इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्गमा पहिरो र हिलोका कारण झापा–ताप्लेजुङ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । त्यस्तै, भोटेकोशी गाउँपालिका–४ जिरोकिलो र गाउँपालिका–२ कोदारीस्थित अरनिको राजमार्गमा पहिरो खस्दा यातायात पूर्ण रूपमा ठप्प छ ।

प्रहरीका अनुसार बागलुङको जैमिनी नगरपालिका–८ बेलबगरस्थित सडकखण्ड पहिरोले पूर्ण रूपमा अवरुद्ध भएको छ । पाँचथरको मिक्लाजुङ गाउँपालिका–४ कोप्चेमा ठूलो पहिरो जाँदा राँके–रवि–भेडेटार सडक पूर्ण रूपमा बन्द भएको छ । गोरखाको धार्चे गाउँपालिका–७ लिदिङमा ठूला ढुङ्गा र लेदोसहितको पहिरो जाँदा उत्तरी गोरखा जोड्ने आरुघाट–माछीखोला सडक पनि ठप्प भएको प्रहरीले जनाएको छ ।

यस्तै, नलगाड नगरपालिका–८ बगरमा खसेको पहिरोका कारण जाजरकोट–डोल्पा सडक खण्ड बन्द भएको छ ।

काभ्रेपलाञ्चोक र सिन्धुली जोड्ने बिपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी खण्डमा सम्भावित बाढीको जोखिमलाई दृष्टिगत गर्दै अर्को सूचना नभएसम्म बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । मकवानपुरको कान्तिलोकपथमा पनि वर्षाका कारण अर्को सूचना जारी नभएसम्म बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।

May be an image of text

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस