काठमाडौं, ३ साउन । युक्रेनको राजधानी किभमा रुसले रातभर गरेको भीषण हवाई आक्रमणमा परी एक जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् । रुसी सेनाले ब्यालिस्टिक क्षेप्यास्त्रसहित गरेको आक्रमणबाट राजधानीका विभिन्न क्षेत्रमा ठूलो भौतिक क्षति पुगेको अधिकारीहरूले बताएका हुन् ।
स्थानीय अधिकारीका अनुसार बिहान करिब १ः३० बजेदेखि सुरु भएको आक्रमण केही घण्टासम्म जारी रहँदा किभका विभिन्न स्थानमा लगातार विस्फोटका आवाज सुनिएका थिए ।
युक्रेनको राज्य आपतकालीन सेवाका अनुसार रुसी आक्रमणपछि राजधानीका पाँच जिल्लामा आगलागी भएको थियो । आक्रमणबाट आवासीय भवन, कार्यालय, औद्योगिक क्षेत्र, छात्रावास तथा सवारीसाधनमा क्षति पुगेको छ ।
उद्धार टोलीले स्भियातोसिन्स्की जिल्लामा आगलागी भएको एक निजी घरबाट चार जनालाई सुरक्षित उद्धार गरेको थियो । त्यस्तै, शेभचेन्किभ्स्की जिल्लामा आगलागी भएको तीनतले भवनबाट पनि धेरै बासिन्दालाई सुरक्षित स्थानमा सारिएको थियो ।
गैरआवासीय भवनमा लागेको आगो नियन्त्रण गर्ने क्रममा उद्धारकर्मीले एक जनाको शव फेला पारेका थिए । दमकल टोलीले सोलोम्यान्स्की, देस्नियान्स्की र निप्रो जिल्लामा लागेको आगो पनि नियन्त्रणमा लिएको जनाएको छ ।
पछिल्लो समय रुसले किभसहित युक्रेनका विभिन्न क्षेत्रमा आक्रमण तीव्र बनाउँदै आएको छ । रुसी ब्यालिस्टिक क्षेप्यास्त्र रोक्न प्रभावकारी मानिएको अमेरिकी निर्मित ‘प्याट्रियट’ हवाई प्रतिरक्षा प्रणालीको अभावका कारण युक्रेनको सुरक्षा चुनौती बढेको बताइएको छ ।
यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई प्याट्रियट इन्टरसेप्टर क्षेप्यास्त्र उत्पादनका लागि अनुमति दिने तयारी रहेको बताएका छन् । उक्त कदमले रुसी क्षेप्यास्त्र आक्रमणविरुद्ध युक्रेनको प्रतिरक्षा क्षमता मजबुत बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । यद्यपि, यसको कार्यान्वयन प्रक्रिया र समयसीमा भने अझै सार्वजनिक गरिएको छैन ।