यी जिल्लामा आज आकस्मिक बाढीको जोखिम

अनलाइनसमय |
३ साउन २०८३
यी जिल्लामा आज आकस्मिक बाढीको जोखिम

काठमाडौं, ३ साउन । देशभर जारी वर्षाका कारण आज पनि विभिन्न जिल्लाका साना तथा ठूला नदीमा पानीको बहाव बढ्ने सम्भावना देखिएको छ । बाढी पूर्वानुमान महाशाखाले पूर्वदेखि सुदूरपश्चिमसम्मका नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको हो ।

महाशाखाका अनुसार झापा, मोरङ, सुनसरी, इलाम, पाँचथर, तेह्रथुम, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौं उपत्यकाका तीन जिल्ला, धादिङ, मकवानपुर, चितवन, कास्की, तनहुँ, स्याङ्जा, पर्वत, बागलुङ, गुल्मी, पाल्पा, अर्घाखाँची, प्युठान, नवलपरासी (पूर्व र पश्चिम), रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, डोटी, डडेलधुरा, कैलाली, कञ्चनपुरलगायत जिल्लामा बहने साना नदीमा बहाव उल्लेख्य बढ्न सक्ने अनुमान गरिएको छ । ती क्षेत्रमा आकस्मिक बाढीको मध्यम जोखिम रहेको महाशाखाले जनाएको छ ।

यस्तै, कोसी, नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला, वाग्मतीलगायत प्रमुख नदीमा पनि वर्षासँगै पानीको बहाव बढ्ने सम्भावना छ ।

यद्यपि, आज बिहानसम्मको मापनअनुसार कोसी, नारायणी, वाग्मती, कर्णाली, महाकाली तथा तिनका सहायक नदीहरूका साथै कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाव सतर्कता तहभन्दा तल नै रहेको महाशाखाले जनाएको छ ।

महाशाखाले नदी तटीय क्षेत्रका बासिन्दा, यात्रु तथा सम्बन्धित निकायलाई मौसम र नदीको अवस्थाबारे नियमित जानकारी लिन तथा आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

b1-1784431350.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस