नयाँ प्रणालीमार्फत राहदानी वितरण सुरु, अत्यावश्यक भए मात्र आवेदन दिन आग्रह

अनलाइनसमय |
२९ असार २०८३
नयाँ प्रणालीमार्फत राहदानी वितरण सुरु, अत्यावश्यक भए मात्र आवेदन दिन आग्रह

काठमाडौं, २९ असार । राहदानी विभागले नयाँ प्रणालीमार्फत राहदानी वितरण सेवा सुरु गरेको छ । नेपालको इतिहासकै सबैभन्दा ठूलो ‘डेटा माइग्रेसन’ सफलतापूर्वक सम्पन्न गरी विभागले नयाँ प्रविधि प्रणाली कार्यान्वयनमा ल्याएको हो ।

नयाँ प्रणालीको सुरुवाती चरणमा केही प्राविधिक सुस्तता आउन सक्ने भएकाले हालका लागि राहदानी अत्यावश्यक भएका सेवाग्राहीहरूले मात्र आवेदन दिन विभागले अनुरोध गरेको छ ।

विभागले करिब एक करोड नेपाली नागरिकको राहदानीसम्बन्धी विवरण सुरक्षित रूपमा नयाँ प्रणालीमा स्थानान्तरण (माइग्रेसन) गरेको जनाएको छ । सूचनामा भनिएको छ, ‘यस नयाँ प्रणालीको सुरूवाती चरणमा, राहदानी अत्यावश्यक भएका सेवाग्राहीहरूले मात्र आवेदन दिनुहुन हार्दिक अनुरोध गर्दछौँ । यहाँहरूको यस सहयोगले नयाँ प्रणालीलाई थप स्थिर र प्रभावकारी बनाउन महत्त्वपूर्ण योगदान पुग्नेछ ।’

बृहत् सूचना प्रविधि प्रणालीको कार्यान्वयन र ‘गो–लाइभ’ भएपछिका सुरुवाती दिनहरूमा केही प्राविधिक चुनौती देखिने, प्रणाली सुस्त हुने र राहदानी वितरणमा सामान्य ढिलाइ हुने सक्ने विभागले जनाएको छ । यस किसिमका समस्याहरूको शीघ्र तथा दीर्घकालीन समाधानका लागि विभाग पूर्ण रूपमा सक्षम र प्रतिबद्ध रहेको सूचनामा उल्लेख छ ।

प्रणालीमा आउने प्राविधिक समस्याहरूको समाधान, निरन्तर अनुगमन र परीक्षणका लागि विभागको प्राविधिक टोली, कर्मचारी तथा प्रणाली विकास गर्ने कम्पनीका विशेषज्ञहरू २४ सै घण्टा तयारी अवस्थामा खटिरहेको विभागले जनाएको छ ।

साथै, राहदानी सेवासम्बन्धी कुनै पनि विषयमा भ्रममा नपरी विभाग वा मन्त्रालयको आधिकारिक माध्यमहरूबाट प्रकाशित सूचना र समाचारलाई मात्र आधार बनाउन समेत सम्पूर्ण सेवाग्राहीहरूमा अनुरोध गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस