काठमाडौँ, २९ असार । देशका विभिन्न भागमा जारी अविरल वर्षा, बाढी र पहिरोका कारण मुख्य तथा सहायक राजमार्गहरू अवरुद्ध भएका छन् । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न सडकखण्ड पहिरो र बाढीले पूर्ण रूपमा प्रभावित भएको छ ।
नेपाल प्रहरीका अनुसार ईलामको इलाम नगरपालिका–९, राजदुवाली (झापा देखि ताप्लेजुङ सडक खण्ड) मा अविरल वर्षाका कारण मेची राजमार्ग पूर्ण रूपमा अवरोध भएको छ । हाल त्यहाँ वैकल्पिक बाटो प्रयोग भइरहेको छ ।
यस्तै, मकवानपुरको भिमफेदी गाउँपालिका–८, भर्याङडाँडा (ललितपुर देखि हेटौँडा खण्ड) मा पहिरो जाँदा कान्तिलोकपथ पूर्ण रूपमा अवरुद्ध भएको छ । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२, कोदारीमा पहिरो खस्दा अरनिको राजमार्ग पनि पूर्ण रूपमा अवरोध भएको प्रहरीले जनाएको छ ।
कास्कीको मादी गाउँपालिका–२, ज्याम्दुमा पहिरो जाँदा पोखरा–ताङतिङ सडक खण्ड पूर्ण रूपमा अवरोध भएको छ । गुल्मीको छत्रकोट गाउँपालिका–३, काउलेमा पहिरो जाँदा मदन भण्डारी राजमार्ग पनि पूर्ण रूपमा अवरोध छ ।
रोल्पा परिवर्तन गाउँपालिका–१, खोलाबाङमा पहिरोका कारण घोराही–रुकुम शहीद मार्ग र अर्घाखाँचीको पाणिनी गाउँपालिका–२, ढुङ्गेखोलामा पहिरो जाँदा सालझन्डि–ढोरपाटन सडक खण्ड पूर्ण रूपमा अवरोध भएको प्रहरीले जनाएको छ ।
यसैगरी, सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै खुर्कोट–नेपालथोक–कटुन्जेबेंसी चल्ने सम्पूर्ण सवारी साधनहरू रोक्दै वि.पि. राजमार्गमा सवारी साधन संचालनमा रोक लगाइएको छ ।
प्रहरीका अनुसार भोजपुरको भोजपुर नगरपालिका–५, बोखिममा बाढीका कारण मध्य पहाडी लोकमार्ग एकतर्फी सुचारु छ भने अर्को वैकल्पिक बाटो समेत संचालनमा ल्याइएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३, हेडबक्समा पहिरो खसे पनि सिद्धार्थ राजमार्ग एकतर्फी सुचारु भएको छ ।