काठमाडौं, २८ असार । प्रमुख विपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सुकुम्बासी बस्तीबाट हटाइएका नागरिकलाई सरकारले अझ भयावह जोखिममा धकेलेको भन्दै आपत्ति जनाएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्रीको प्रतिबद्धतामाथि गम्भीर प्रश्न उठाउँदै नेता आङ्देम्बेले सुरक्षित र व्यवस्थित व्यवस्थापनको वाचा कहाँ हरायो भनी प्रश्न गरेका छन् ।
‘प्रधानमन्त्रीजीले गरेको एउटा सार्वजनिक प्रतिबद्धता आज पनि सम्झिन्छु– ’ज्यान जोखिममा रही असुरक्षित स्थानमा बसोबास गरिरहेका नागरिकका लागि सुरक्षित तथा व्यवस्थित स्थानान्तरणको व्यवस्था गरिनेछ । आज म प्रधानमन्त्रीजीलाई सोध्न चाहन्छु– त्यो प्रतिबद्धता कहाँ हरायो ? के यही हो तपाईंले वाचा गर्नुभएको सुरक्षित र व्यवस्थित व्यवस्थापन ?’ आङ्देम्बेले भने ।
जोखिमबाट जोगाउने नाममा विस्थापित गरिएका गरिब नागरिकलाई राखिएको कीर्तिपुरको होल्डिङ सेन्टर नै डुबानमा परेपछि सरकारको लाचारीपन उजागर भएको उनको भनाइ छ । सरकारले नागरिकलाई जोखिममुक्त गर्नुको साटो अझ ठुलो संकटमा पारेको उल्लेख गर्दै उनले सुरक्षित आश्रयको आश्वासन पाएका नागरिकहरू आज फेरि भोक, पानी, हिलो, अभाव र असुरक्षाको घेराभित्र पीडादायी जीवन बिताउन बाध्य भएको बताए । सुकुम्बासी नागरिकसँग गरिएको सार्वजनिक प्रतिबद्धतामा सरकारले चरम गैरजिम्मेवारपन र संवेदनहीनता देखाएको उनको आरोप छ ।
यसैगरी, नेता आङ्देम्बेले होल्डिङ सेन्टरमा पुगेर पीडितहरूको अवस्था बुझ्न र सरकारसँग जवाफ माग्न खोज्ने युवाहरू माजिद अन्सारीसहितलाई बलपूर्वक नियन्त्रणमा लिइएको घटनाप्रति घोर आपत्ति जनाएका छन् । सरकारले प्रश्न सोध्नुलाई नै अपराध ठानेको भन्दै उनले लोकतान्त्रिक व्यवस्थामा प्रश्न सोध्नु कहिलेदेखि अपराध बन्यो भनी प्रश्न गरेका छन् ।
‘आफ्नै प्रतिबद्धता पूरा गर्न नसकेपछि आत्मसमीक्षा गर्नुपर्ने सरकारले उल्टै प्रश्न गर्ने नागरिकमाथि दमन गर्नु लोकतन्त्र, अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारमाथिको आक्रमण हो,’ आङ्देम्बेले भने ।
उनले नागरिकसँग गरिएका प्रतिबद्धता पूरा भए कि भएनन् भन्ने कुराको हिसाब इतिहासले राख्ने चेतावनी दिँदै प्रधानमन्त्रीलाई प्रश्न सोध्नेलाई थुनेर नभई जवाफदेही बनेर प्रस्तुत हुन आग्रह गरे ।