एकै सातामा चीनमा दोस्रो शक्तिशाली आँधी, २० लाख नागरिक सुरक्षित स्थानमा सारिए

अनलाइनसमय |
२८ असार २०८३
एकै सातामा चीनमा दोस्रो शक्तिशाली आँधी, २० लाख नागरिक सुरक्षित स्थानमा सारिए

काठमाडौं, २८ असार । चीनमा एक साताभित्रै दोस्रो पटक शक्तिशाली समुद्री आँधी (टाइफुन) ‘बाभी’ प्रवेश गरेको छ । आँधीबाट हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै अधिकारीहरूले पूर्वी तटीय क्षेत्रबाट झन्डै २० लाख मानिसलाई सुरक्षित स्थानमा सारेका छन् ।

फ्रान्सको कुल चौडाइ (करिब १,००० किलोमिटर) क्षेत्रफलमा फैलिएको यो विशाल आँधी शनिबार साँझ ताइझाउ सहरमा प्रवेश गरेको थियो । त्यसको केही घण्टापछि यसले वेनझोउ सहरमा दोस्रो पटक ल्यान्डफल (जमिनमा) प्रवेश गरेको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।

जनजीवन ठप्प, उद्धार कार्य तीव्र
आँधीको मार्गमा पर्ने १ करोड जनसङ्ख्या भएको वेनझोउ सहर र आसपासका क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ । झेजियाङ प्रान्तमा विद्यालय, कलकारखाना र बाहिरी गतिविधिहरू पूर्ण रूपमा बन्द गरिएका छन् । ४०० भन्दा बढी उडान र दर्जनौँ रेल सेवा रद्द भएका छन् भने सम्भावित अभावलाई झेल्न नागरिकहरूले खाद्यान्न भण्डारण गरेपछि सुपरमार्केटहरू रित्तिएका छन् ।

२९० किमी÷घण्टाको गतिबाट सुरु भएको यो ‘सुपर टाइफुन’ अहिले कमजोर भएर उष्णकटिबंधीय आँधीमा परिणत भएको छ । यद्यपि, यसको रेन–ब्यान्ड (वर्षा गराउने बादल) मा उच्च चिस्यान रहेकाले पूर्वी झेजियाङ र उत्तरपूर्वी फुजियान प्रान्तमा ‘असाधारण भारी वर्षा’ र बाढीको खतरा कायमै रहेको मौसमविद्हरूले बताएका छन् ।
चीनको दक्षिणी हिस्सा केही दिनअघि मात्र आएको टाइफुन ‘मेसाक’को चपेटामा परेको थियो । ३९ जनाको ज्यान लिने र दुईवटा दुर्लभ टोर्नाडो (चक्रवात) निम्त्याउने मेसाकको क्षतिकाबीच यो नयाँ आँधीले चीनको संकट थपिदिएको छ ।

चीन आउनुअघि यो आँधीले प्रशान्त महासागरीय क्षेत्रमा ठूलो क्षति पु¥याएको छ । फिलिपिन्समा आँधीका कारण निम्तिएको विनाशकारी पहिरोमा परी कम्तीमा १७ जनाको मृत्यु भएको छ । जापानको साकिशिमा टापुमा १४४ किमी÷घण्टाको गतिमा आएको हावाहुरीले विद्युत् सेवा अवरुद्ध पार्नुका साथै ५ जना घाइते भएका छन् । त्यस्तै, ताइवानमा प्रत्यक्ष प्रवेश गर्नु अघि नै १ मिटरसम्म वर्षा हुन सक्ने चेतावनीका बीच हजारौँ नागरिकलाई सुरक्षित स्थानमा सारिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस