काठमाडौं, २८ असार । हाल देशभर मनसुनी वायूको प्रभाव रहेको छ । साथै मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भू–भाग नजिक रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
अहिले लुम्बिनी प्रदेशको धेरै स्थानमा कोशी, बागमती,गण्डकी र कर्णाली प्रदेशको थोरै स्थानमा तथा मधेश र सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा हल्का देखि मध्यम वर्षा भैरहेको छ ।
आज दिउँसो देशका हिमाली भू–भागका केही स्थानमा र पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना छ । मधेश प्रदेश तथा कोशी, बागमती, गण्डकी प्रदेशका तराई भू–भागका धेरै स्थानमा तथा लुम्बिनी र सुदुरपश्चिम प्रदेश तराई भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । त्यस्तै, मधेश प्रदेशसहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र तराई भू–भागको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको विभागले जनाएको छ ।
आज राती कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका धेरै र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना छ ।
विभागका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका धेरै स्थानमा, मधेश प्रदेश साथै लुम्बिनी प्रदेशको पहाडी र तराई भू–भागका केही स्थानमा तथा कर्णाली प्रदेशको पहाडी र सुदुरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका थोरै मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी प्रदेशको पहाडी भू–भागको थोरै स्थानमा तथा मधेश प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशको तराई भू–भागको एक–दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको छ । कोशी र बागमती प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहेको विभागले जनाएको छ ।