काठमाडौं, २६ असार । गृहमन्त्री सुधन गुरुङले आत्मदाह गरेका गणेश नेपालीको मोटरसाइकलमा ट्राफिक प्रहरीले नभइ नगरप्रहरीले ह्वील लक लगाएको बताएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले घटनालाई लिएर उठेका प्रश्नहरूको जवाफ दिँदै ह्वील लक नगरप्रहरीले लगाएको बताएका हुन् । साथै उनले स्थानीय र प्रदेश सरकारको जिम्मेवारीबारे पनि प्रश्न उठाए ।
‘ट्राफिक प्रहरीले ह्वील लक लगाएको होइन, नगरप्रहरीले लगाएको हो,’ उनले भने, ‘विपक्षी दलका साथीहरूलाई सोध्न चाहन्छु– अहिले स्थानीय सरकार कसको छ ? राष्ट्रिय स्वतन्त्र पार्टीको हो? प्रदेश सरकार कसको छ ? दुई तहको सरकार त तपाईंहरूसँग नै छ ।’
गृहमन्त्री गुरुङले यस घटनामा कुनै नयाँ व्यवस्था लागू नभई पहिलेदेखि रहेको कानुनअनुसार नै काम भएको दाबी गरे ।
उनले आत्मदाह गरेका गणेश नेपालीको ज्यान बचाउन सरकारले सबै सम्भव प्रयास गरेको पनि बताए । उपचारका लागि भारत पठाउने समन्वय भइरहेको बेला नेपालीको रक्तचाप अत्यन्त कम भएकाले थप उपचार सम्भव हुन नसकेको उनको भनाइ थियो ।