काठमाडौं, २६ असार । राष्ट्रियसभा सदस्यहरूले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाह गरेका गणेश नेपालीको मृत्युबारे निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरेका छन् ।
शुक्रबार बसेको राष्ट्रियसभाको बैठकको आकस्मिक समयमा सांसदहरूले उपचारका क्रममा वीर अस्पतालमा निधन भएका नेपालीको घटनाप्रति गम्भीर चासो व्यक्त गर्दै घटनाको सत्यतथ्य सार्वजनिक गर्न आग्रह गरेका हुन् ।
सांसद पदमबहादुर परियारले घाइतेलाई अस्पताल पुर्याउने क्रममा सम्बन्धित निकायबाट आवश्यक मानवीय संवेदनशीलता नदेखिएको भन्दै सरकारको ध्यानाकर्षण गराए । उनले घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीमाथि आवश्यक कारबाही हुनुपर्ने बताए ।
सांसद नरबहादुर विष्टले घाइते गणेश नेपालीको उद्धारका क्रममा ट्राफिक प्रहरी र काठमाडौँ महानगरपालिकाका नगरप्रहरीले मानवीय व्यवहार नगरेको आरोप लगाए ।
त्यस्तै, सांसद सोमनाथ पोर्तेल र तुलप्रसाद विश्वकर्माले पनि घटनाबारे गम्भीर छानबिन गर्न तथा यस्ता घटना दोहोरिन नदिन प्रभावकारी कदम चाल्न सरकारको ध्यानाकर्षण गराएका छन् ।