काठमाडौं, २५ असार । संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको प्रमुख आयुक्त र आयुक्त पदमा सिफारिस भएकाहरूको सुनुवाइ प्रक्रिया सुरु गरेको छ ।
सिंहदरबारमा बिहीबार बसेको समिति बैठकले प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्की र आयुक्त राजीव सुब्बा साथै गुरुप्रसाद वाग्लेको सुनुवाइ प्रक्रिया अघि बढाएको हो ।
संवैधानिक परिषद्को असार १९ गतेको बैठकले प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की तथा आयुक्तहरूमा राजीव सुब्बा र गुरुप्रसाद वाग्लेको नाम सिफारिस गरेको थियो ।
प्रस्तावित व्यक्तिहरुको सुनुवाइका लागि १० दिनको समय दिएर उजुरी आह्वान गरिएको समितिका सभापति बोधनारायण श्रेष्ठले जानकारी दिए । सूचना प्रकाशित भएको मितिले १० दिनभित्र स्पष्ट आधार खुलाएर विद्युतीय वा अन्य जुनसुकै माध्यमबाट उजुरी दर्ता गर्न सकिने उनले बताए ।
आगामी साउन ५ गते बस्ने समितिको बैठकमा प्राप्त उजुरीहरू खोली अध्ययनका लागि सदस्यहरूलाई वितरण गरिने कार्यतालिका छ ।