काठमाडौं, १९ असार । मेलम्ची खानेपानी आयोजनाको मुहानमा बाढीका कारण पानी अत्यधिक धमिलो बनेपछि काठमाडौं उपत्यकामा मेलम्चीको खानेपानी आपूर्ति अस्थायी रूपमा बन्द गरिएको छ ।
काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)का प्रवक्ता वीरबहादुर चन्दका अनुसार मुहानमा आएको बाढीले पानीको गुणस्तर प्रभावित बनाएकाले प्रशोधन गर्न कठिनाइ भएको छ । त्यसैले मेलम्चीबाट सुन्दरीजलस्थित प्रशोधन केन्द्रतर्फ पानी पठाउने कार्य तत्कालका लागि रोकिएको उनले जानकारी दिए ।
प्रवक्ता चन्दले मुहानको पानीको गुणस्तर सुधार भएपछि पुनः प्रशोधन प्रक्रिया सुरु गरिने र पूर्वनिर्धारित वितरण तालिकाअनुसार उपभोक्तालाई खानेपानी उपलब्ध गराइने बताए ।