काठमाडौं, ११ असार । शिक्षा, युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले कक्षा १२ को नतिजाका विषयमा प्रश्न उठेपछि उत्तरपुस्तिकाको स्याम्पलिङ परीक्षण तथा परीक्षाङ्क तथा डेटा इन्ट्रीको भेरिफिकेसनका लागि समिति गठन गरिएको जनाएका बताएका छन् ।
बिहीबार सामाजिक सञ्जालमार्फत नतिजा हतारमा नभई आवश्यक जनशक्ति थपेर र प्रशासनिक प्रक्रिया छोट्याएर समयमै निकालिएको स्पष्ट पार्दै उनले परीक्षाको प्राविधिक पक्ष जाँच गर्न समिति बनाइएको बताएका हुन् ।
उनका अनुसार समितिमा शिक्षा तथा खेलकुद मन्त्रालय र पाठ्यक्रम विकास केन्द्रका उपसचिवहरूको प्रतिनिधित्व रहनेछ ।
नतिजा प्रकाशनमा हतारो गरिएका कारण त्रुटि भएको भन्दै सडक र सामाजिक सञ्जालमा उठिरहेका प्रश्नहरूको खण्डन गर्दै मन्त्रीले भने, ‘नतिजा समयमै प्रकाशन गर्न कुनै हतार गरिएको होइन, बरु आवश्यक जनशक्ति थप गरी र अनावश्यक प्रशासनिक प्रक्रियाहरू छोट्याई नतिजा प्रकाशित हुनुपर्ने समयमा नै प्रकाशित गरिएको हो । यस प्रक्रियाप्रति हामी स्पष्ट र विश्वस्त छौँ ।’
यस्तै, परीक्षा नतिजालाई लिएर आन्दोलनमा उत्रिएका विद्यार्थीहरूको लोकतान्त्रिक अधिकारको सम्मान गरिने उनले बताएका छन् । तर, आन्दोलनको बहानामा सामाजिक सञ्जालमा विद्यार्थीहरूमाथि भइरहेका नकारात्मक र असम्मानजनक टिप्पणीप्रति भने उनले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
शान्तिपूर्ण रूपमा आन्दोलन गरिरहेका कुनै पनि व्यक्ति वा समूहप्रति सामाजिक सञ्जालमा दुव्र्यवहार, गालीगलौज वा असम्मानजनक टिप्पणी नगर्न मन्त्रीले सबैमा आग्रह समेत गरेका छन् ।