रास्वपा महाधिवेशन: नयाँ नेतृत्व चयनका लागि आज मतदान

अनलाइनसमय |
१० असार २०८३
रास्वपा महाधिवेशन: नयाँ नेतृत्व चयनका लागि आज मतदान

काठमाडौं, १० असार । चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । बन्दसत्र सम्पन्न भएपछि केन्द्रीय निर्वाचन आयोगले मतदानका सबै तयारी पूरा गरेको जनाएको हो ।

संशोधित विधानअनुसार रास्वपाको १५१ सदस्यीय केन्द्रीय समितिमध्ये ९९ जना सदस्य प्रत्यक्ष निर्वाचनमार्फत चयन गरिनेछन् भने बाँकी ५१ सदस्य सभापतिले मनोनीत गर्ने व्यवस्था रहेको छ । निर्वाचन आयोगका अनुसार ९९ केन्द्रीय सदस्य पदका लागि ४०० भन्दा बढी उम्मेदवार चुनावी मैदानमा छन् ।

पार्टी सभापति पदमा भने वर्तमान सभापति रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेका छन् । पहिलो चरणमा निर्वाचित हुने ९९ केन्द्रीय सदस्यहरूबाट दोस्रो चरणमा उपसभापति, महामन्त्री, सह–महामन्त्री, कोषाध्यक्षलगायत १९ पदाधिकारी चयन गरिनेछ ।

मतदान प्रक्रियालाई प्रविधिमैत्री बनाउन रास्वपाले महाधिवेशन स्थलमा ८० वटा विद्युतीय मतदान उपकरण (राम–लक्ष्मण भोटिङ मेसिन) प्रयोगमा ल्याएको छ । साथै, कार्यक्रममा उपस्थित हुन नसकेका तथा विदेशमा रहेका प्रतिनिधिहरूलाई पार्टीको आधिकारिक मोबाइल एपमार्फत मतदान गर्ने सुविधा पनि उपलब्ध गराइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस