काठमाडौं, ४ जेठ । युक्रेनले आइतबार राति रूसको राजधानी मस्कोमा व्यापक ड्रोन आक्रमण गरेको छ । रूसी अधिकारीहरूका अनुसार उक्त आक्रमणमा तीन जनाको मृत्यु भएको छ ।
देशका १४ वटा क्षेत्रमा रातभरि ५५६ वटा ड्रोन खसालेको रुसी सेनाले जनाएको छ । पछिल्लो एक वर्षयता मस्कोमाथि भएको यो सबैभन्दा ठूलो आक्रमण हो ।
राजधानीदेखि उत्तरमा पर्ने खिम्कीस्थित एउटा घरमा एक महिलाको ज्यान गएको क्षेत्रीय गभर्नर एन्ड्रेई भोरोबिएभले बताए । ड्रोन हमलामा परी पोगोरेल्की गाउँमा अर्का एक पुरुष र एक महिलाको मृत्यु भएको हो ।
क्षेत्रीय गभर्नर भोरोबिएभका अनुसार ड्रोन हमलामा परी तीन पुरुष र एक महिला घाइते भएका छन् भने कैयौँ घरहरूमा क्षति पुगेको छ ।
युक्रेनले निशाना बनाएका स्थानमध्ये राजधानीस्थित प्रमुख तेल प्रशोधन केन्द्र पनि रहेको छ । मस्कोका मेयर सेर्गेई सोबियानिनका अनुसार उक्त केन्द्रमाथि हमला गरिँदा १२ जना घाइते भएका छन् ।
रुसी ड्रोन हमलामा युक्रेनमा आठ जना घाइते भएका युक्रेनी अधिकारीहरूले बताएका छन् । यसअघि शुक्रवार युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसलाई कडा जबाफ दिने बताएका थिए । रुसले युक्रेनमाथि १,५०० ड्रोन प्रहार गर्दा २४ जना मारिएपछि जेलेन्स्कीले उक्त चेतावनी दिएका थिए ।
युक्रेनले मस्को क्षेत्रमा गरिएका पछिल्ला ड्रोन हमलाहरूबारे कुनै प्रतिक्रिया दिएको छैन ।