काठमाडौं, १४ वैशाख । नेपाली कांग्रेसले भीष्मराज आङ्देम्बेलाई संसदीय दलको नेता बनाउने भएको छ । सोमबार बिहान बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आङ्देम्बेलाई दलको नेता चयनका लागि सिफारिस गर्ने सर्वसम्मत निर्णय गरेको हो ।
आजै बस्ने संसदीय दलको बैठकले आङ्देम्बेलाई दलको नेता चयन गर्नेछ ।
सुरुमा कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे, अर्जुननरसिंह केसी र मोहन आचार्य प्रमुख दाबेदार थिए । एकताको सन्देश दिनका लागि आङ्देम्बेलाई दलको नेता बनाउनुपर्ने आवाज कांग्रेसभित्र उठेको थियो ।
दलको नेतामा सहमति जुटाउन गत शुक्रबार बसेको कार्यसम्पादन समिति बैठकले उपसभापति विश्वप्रकाश शर्माको संयोजकत्वमा ७ सदस्यीय समिति बनाएके थियो ।
समितिमा उपसभापति पुष्पा भुसाल, महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरे तथा दलको नेता चयन गर्न बनेको निर्वाचन समितिलाई सहमतिका लागि जिम्मेवारी दिइएको थियो । केन्द्रीय कार्यसम्पादन समितिले संसदीय दल नेता चयनमा सहजीकरणको भूमिका खेलिरहेको थियो ।