काठमाडौं, ९ वैशाख । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का अध्यक्ष परिषद सदस्य सुदन किरातीले पार्टीको साधारण सदस्य समेत नरहने गरी राजीनाको घोषणा छन् । बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले पार्टीसँगको करिब ५ महिना लामो यात्रा टुङ्ग्याएको घोषणा गरेका हुन् ।
‘प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) को साधारण सदस्य समेत नरहने निर्णय गरेको जानकारी गराउन चाहन्छु,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘करिब ५ महिनाको यस यात्रामा मार्गदर्शन गर्नुहुने आदरणीय नेताहरू, हातेमालो गर्ने सम्पूर्ण साथीहरू तथा कर्मचारीहरूप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु । यस अवधिमा प्राप्त अनुभवहरूलाई मैले अमूल्य सम्पत्तिको रूपमा आत्मसाथ गरेको छु । संगठनसँगको औपचारिक सम्बन्ध अन्त्य भएपनि आगामी दिनहरूमा आपसी सम्मान, सद्भाव र मित्रवत सम्बन्ध यथावत् रहने विश्वास लिएको छु ।’
जनसमुदायको भरोसा र सहिदको अधुरो सपनालाई मुटुमा बोकेकाले जस्तोसुकै परिस्थिति आए पनि देश र जनताको सेवा, समर्पण र समाज रूपान्तरणको यात्राबाट पछि नहट्ने उनले बताएका छन् । ‘मेरो लागि आगामी बाटो सजिलो नहुन सक्छ तर जनताको विश्वास र सहिदको बलिदानले देखाएको मार्गमा निरन्तर अघि बढिरहने छु,’ उनले भनेका छन् ।
जेनजी आन्दोलपछि तत्कालीन माओवादी केन्द्र त्यागेर उनी प्रलोमा जोडिएका थिए ।