काठमाडौं, ७ वैशाख । प्रधानमन्त्री बालेन शाहले विश्वविद्यालय तथा प्रतिष्ठानका उपकुलपतिहरूसँग छलफल गरेका छन् । प्रधानमन्त्री शाहले आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा छलफल गरेका हुन् ।
विश्वविद्यालय र प्रतिष्ठानहरुका समसामयिक समस्या र समाधानका उपायहरूबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । साथै, कतिपय तत्कालै समाधान गर्न सकिने समस्याबारे पनि छलफल भएको बताइएको छ ।
बैठकमा त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालय, सुदूरपश्चिमाञ्चल विश्वविद्यालय र मध्यपश्चिमाञ्चल, कृषि तथा वनविज्ञान विश्वविद्यालय, राजर्षि जनक विश्वविद्यालय र शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका विश्वविद्यालयका उपकुलपतिहरु सहभागी थिए ।
त्यस्तै, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरुलाई बोलाइएको थियो । यसैगरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान,पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति पनि सहभागी थिए ।