काठमाडौं, ७ वैशाख । नेपाली कांग्रेसले गृहमन्त्री सुधन गुरुङमाथि तत्काल अनुसन्धान गर्न माग गरेको छ । पार्टीका प्रवक्ता देवराज चालीसेले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै गृहमन्त्रीमाथि लागेका सबै आरोपहरूको स्वतन्त्र, निष्पक्ष र उच्चस्तरीय छानबिन प्रक्रिया सुरू गर्नसरकारलाई आग्रह गरेको हो ।
चालिसेले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘नेपाली कांग्रेस सरकारसमक्ष स्पष्ट माग गर्दछ— गृहमन्त्रीसँग सम्बन्धित सम्पूर्ण आरोपहरूको स्वतन्त्र, निष्पक्ष र उच्चस्तरीय छानबिन प्रक्रिया तुरून्त प्रारम्भ गरियोस् । यस विषयलाई ढिलासुस्ती, प्रभाव वा ढाकछोपतर्फ लैजाने कुनै पनि प्रयासले सुशासन, नैतिकता र जनविश्वासमाथि गम्भीर आघात पुर्याउनेछ ।’
पदमा बहाल रहँदा अनुसन्धान प्रक्रियामा प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पर्ने सम्भावना रहने भन्दै कांग्रेसले स्वतन्त्र र प्रभावरहित छानबिनका लागि उपयुक्त वातावरण सुनिश्चित गर्नुपर्नेमा जोड दिएको छ ।
‘गृहमन्त्रीसँग सम्बन्धित पछिल्लो प्रकरणले सार्वजनिक चासो मात्र होइन, राजनीतिक नैतिकता र पारदर्शितासँग जोडिएको गम्भीर प्रश्न उठाएको छ । यस्तो अवस्थामा सम्बन्धित पदमा रहँदै अनुसन्धान प्रक्रियामा प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पर्ने आशंका उत्पन्न हुनु स्वाभाविक हो’, जारी विज्ञप्तिमा भनिएको छ, ‘त्यसैले अनुसन्धानलाई स्वतन्त्र, निष्पक्ष र प्रभावरहित बनाउन आवश्यक वातावरण सुनिश्चित गरिनुपर्छ भन्ने हाम्रो स्पष्ट धारणा छ ।’
