काठमाडौं, ७ वैशाख । दक्षिण तथा मध्य एशिया मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुर काठमाडौं आइपुगेका छन् । उनी आज बिहान काठमाडौँ आइपुगेका हुन् ।
तीन दिने भ्रमणका लागि आएका कपुरले अमेरिका–नेपाल साझेदारीलाई अझ सुदृढ बनाउन सरकारी अधिकारीहरू, व्यवसायिक नेतृत्वकर्ताहरू र सांस्कृतिक विज्ञहरूसँग भेटघाट गर्ने नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ ।
बालेन्द्र (बालेन) शाहको नेतृत्वमा नयाँ सरकार गठन भएपछिको यो पहिलो उच्चस्तरीय अमेरिकी भ्रमण हो । उनले आजै परराष्ट्रमन्त्री शिशिर खनाल र अर्थमन्त्री स्वर्णिम वाग्लेसँग भेट्ने कार्यक्रम रहेको बताइएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पनिकट रहेका कपुरले दक्षिण तथा मध्य एसिया मामिला हेर्ने गर्छन् । राष्ट्रपति ट्रम्पले तत्कालीन अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुलाई हटाएर २०८१ फागुनमा कपुरलाई नियुक्त गरेका थिए ।
अहिलेको सरकार गठनमा अमेरिकाको विशेष प्रभाव रहेको टिप्पणी भइरहेका बेला सहायक विदेशमन्त्री कपुरको नेपाल भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।