काठमाडौं, ६ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपा सिध्याइन्छ भन्ने सपना कसैले नदेख्दा हुने बताएका छन् ।
अध्यक्ष लिङ्देनले आइतबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै राप्रपा आफ्नो सारा गल्ती कमी कमजोरीहरुलाई सच्याएर पुनर्गठित भएर उठ्ने बताएका हुन् ।
‘राप्रपा सिद्धिन्छ, सकिन्छ वा सिध्याइन्छ भन्ने सपना कसैले नदेखे हुन्छ । म जस्ता असंख्यको रगत, पसिना र बैँस खर्चेर बनेको यो राप्रपाले चुनाव पो हारेको हो त चुनाव हार्दैमा कुनै पनि राजनीतिक पार्टीको भविष्य सकिँदैन’, अध्यक्ष लिङ्देनले फेसबुकमा लेखेका छन्, ‘न राप्रपा अभिभावकीय राजसंस्था, सनातन धर्म सापेक्ष हिन्दू राष्ट्र, आर्थिक रूपले मात्र होइन प्रशासनिक दृष्टिकोणले समेत झन्झटिलो र बोझिलो प्रदेश संरचना सम्बन्धित आफ्नो अवधारणाबाट पछाडि फर्किन्छ। आफ्नो सारा गल्ती कमीकमजोरीहरू सच्याएर राप्रपा पुनर्गठित भएर उठ्नेछ ।’
राप्रपाभित्र कतिपय नेताहरूले पार्टी पुनर्गठनको माग गरेका छन् । महामन्त्री धवल शम्शेर राणाले एक साताभित्र महाधिवेशन मिति घोषणा गर्न अल्टिमेटम दिएका थिए भने महाधिवेशन गर्न स्वतन्त्र व्यक्तिको नेतृत्वमा आयोजक समिति बनाउनुपर्ने बताएका थिए ।