काठमाडौं, ४ वैशाख । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो स्वामित्वमा रहेका जग्गा तथा अचल सम्पत्ति अनधिकृत रूपमा कब्जा गर्ने व्यक्ति, संस्था र कम्पनीहरूलाई ३५ दिनभित्र खाली गर्न अल्टिमेटम दिएको छ ।
विश्वविद्यालयको कार्यकारी परिषद्को निर्णयअनुसार शुक्रबार त्रिवि प्रशासन महाशाखाद्वारा एक विज्ञप्ति जारी गर्दै यस्तो अल्टिमेटम दिएको हो ।
‘त्रिभुवन विश्वविद्यालयको जग्गा तथा अचल सम्पत्ति खोजबिन समितिको प्रतिवेदन २०८१ ले त्रिभुवन विश्वविद्यालय र यस अन्तगर्तका निकायहरूको स्वामित्वमा रहेका जग्गा तथा अचल सम्पत्तिहरू केही व्यक्ति, कम्पनी, संघ संस्था वा निकायहरूले विश्वविद्यालयको ऐन, नियम तथा प्रचलित कानून विपरीत अनधिकृत रूपमा कब्जा, भोग तथा नियन्त्रण गरिरहेको औंल्याएको छ,’ त्रिवि प्रशासन महाशाखाद्वारा जारी सूचनामा भनिएको छ, ‘नेपाल सरकार लगायत दाताहरूले त्रिभुवन विश्वविद्यालयको शैक्षिक उन्नयनका लागि विभिन्न समय र अवस्थामा विश्वविद्यालयलाई भोकाधिकारका लागि उपलब्ध गराएका (प्रतिवेदनमा उल्लेख भएका वा उल्लेख नभएका ) उक्त जग्गा तथा अचल सम्पत्तिहरू यो सूचना प्रथम पटक प्रकाशन भएको मितिले ३५ दिन भित्र खाली गरी÷गराई त्रिभुवन विश्वविद्यालयलाई आधिकारिक रूपमा फिर्ता गर्नु/गराउनु हुन सम्बन्धित सबैको जानकारी गराइन्छ ।’
विश्वविद्यालयले तोकिएको समयसीमाभित्र जग्गा फिर्ता नगरेमा प्रचलित कानुन र नियम अनुसार कारबाही अगाडि बढाइने चेतावनी समेत दिइएको छ ।
