काठमाडौं, १८ पुस । नेपालमा हाल करिब साढे एक लाख होटल तथा रेस्टुरेन्ट सञ्चालनमा रहेको छ ।
राष्ट्रिय होटल तथा रेस्टुरेन्ट सर्वेक्षण–२०८० का अनुसार १ लाख ४२ हजार २२३ होटल तथा रेस्टुरेन्ट सञ्चालनमा रहेका छन् । यस्ता होटल तथा रेस्टुरेन्टहरूले विभिन्न शीर्षकमा सेवा, सुविधा प्रदान गर्ने गर्छन् । राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार दश हजार होटलले निःशूल्क वाइफाइ (फ्री वाइफाइ) ग्राहकलाई प्रदान गर्दै आएको छ भने १ हजार ८६७ होटलले लुगा धुने सेवा दिएको छ । १ हजार ६९४ होटलमा ‘पिक एण्ड ड्रप’ सेवा रहेको छ । २ सय २२ वटा होटलमा स्वीमिङ पुल तथा १ सय ५० वटामा ‘स्पा’ सेवाको व्यवस्था छ ।
पानी शुद्धीकरण विधि १ हजार ५१८ होटल तथा रेस्टुरेन्टमा उपलब्ध छ । १ सय २८ होटल तथा रेस्टुरेन्टले पूलसाइड बार सञ्चालन गर्दा ३ सय ७ वटाले ‘मनी एक्सचेन्ज’ को सुविधा दिएको छ । यस्तै ‘क्युरियो’, बुटिक तथा उपहार सेवा १ सय ९१, पार्किङ सेवा २ हजार ९ सय, चौबिसै घण्टा सुरक्षा सेवा १ हजार ४३९ होटलमा रहेको छ ।
तथ्याङ्क अनुसार ३ हजार ६ सय होटलमा सिसिटिभी क्यामेरा जडित छ । २ हजार ५२ होटलमा सभा तथा सेमिनर हलको सुविधा हुँदा २ हजार २३० होटलमा आगलागी सुरक्षा ‘फाएर सेफ्टि’ छ ।
शारीरिक व्यायाम १८५, खेल सुविधा १८९ तथा ४३५ वटा होटलमा भ्रमणको सेवा उपलब्ध छ । त्यस्तै लिफ्टको सुविधा २८४, धुम्रपान ‘स्मोकिङ जोन’ २ हजार २२६ होटलमा छ भने क्यासिनो ५३ होटलमा छ । यी बाहेकका अन्य सेवा प्रदान गर्ने होटलको संख्या १८६ रहेको छ ।