प्राधिकरणको पत्रको भरमा कम्पनीको शेयर किनबेच नरोक्न उद्योगमन्त्रीको निर्देशन

अनलाइनसमय |
१२ पुष २०८१
प्राधिकरणको पत्रको भरमा कम्पनीको शेयर किनबेच नरोक्न उद्योगमन्त्रीको निर्देशन

काठमाडौं, १२ पुस । उद्योगमन्त्री दामोदर भण्डारीले नेपाल विद्युत् प्राधिकरणको पत्रको भरमा कम्पनीहरूको शेयर किनबेच रोक्का गर्ने काम नगर्न कम्पनी रजिस्ट्रारको कार्यालयलाई निर्देशन दिएका छन् ।

बिहीबार मन्त्री भण्डारीले कम्पनी रजिस्ट्रार प्रदीप अधिकारीलाई फोन गरेर प्राधिकरणले पत्र पठाएका भरमा कम्पनीहरूको शेयर किनबेच रोक्न नमिल्ने बताएका हुन् । प्रक्रिया नपु¥याइ गैरकानुनी रूपमा ‘डेडिकेटेड’ तथा ‘ट्रंकलाइन’ महसुल विवादसँग जोडिएका उद्योग (कम्पनी) हरूको शेयर किनबेच रोक्न नमिल्ने मन्त्री भण्डारीले बताए ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयबाट आधिकारिक रूपमा उद्योग मन्त्रालयमा पत्र आएपछि सोही पत्रका आधारमा मात्रै यस्तो रोक्का प्रक्रिया अघि बढाउन सकिने उनले सुझाव दिएका थिए ।

तर, जवाफमा कम्पनी रजिस्ट्रार अधिकारीले प्राधिकरणको पत्र दर्ता हुन आएकाले शेयर किनबेच रोक्का गर्ने हो कि भन्ने सोच बनाएको र यस सम्बन्धमा निर्णय भइनसकेको जवाफ दिएका थिए ।

कम्पनी रजिस्ट्रारको कार्यालयले प्राधिकरणको पत्रका आधारमा उद्योगहरूको शेयर किनबेच रोकेर अनावश्यक दुःख दिएको भन्दै उद्योग मन्त्रालयमा गुनासो गरेका थिए ।

गुनासो बढेपछि शुक्रबार मन्त्री भण्डारीले यस विषयमा चासो दिएका हुन् । साथै, उनले मन्त्रिपरिषद्मा पनि डेडिकेटेड तथा ट्रंकलाइन महसुल समस्याबारे छलफल भइरहेकाले यस विषयमा कम्पनी रजिस्ट्रारको कार्यालयले एक पक्षीय काम गर्न नहुने अधिकारीलाई बताएका थिए ।

यसअघि प्राधिकरणले डेडिकेटेड तथा ट्रंकलाइन महसुल विवादसँग जोडिएका उद्योगका सञ्चालकले लगानी गरेको ऊर्जा कम्पनीका बिजुली बापत भुक्तानी रोकेपछि सर्वोच्च अदालतले यस्तो भुक्तानी नरोक्न अन्तरिम आदेश दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस