काठमाडौं, १३ चैत । नेपालमा पहिलो पटक अनलाइनबाट काम दिन र लिन सकिने गरी पिटिइ वर्क एप्लिकेशन सञ्चालनमा आएको छ । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले उद्घाटन गरेसँगै एप्लिकेशनको सञ्चालनमा आएको हो ।
क्वीक वर्क प्रालिले यो एप्लिकेशन बनाएको हो । एप्लिकेशनमा एआई टेक्नोलोजी प्रयोग गरेर कामदारहरूसँग भएको योग्यता, क्षमता अनुसार सेवा प्रदायकले रोजगारी दिन सक्ने एप्लिकेशनका प्रवन्ध निर्देशक प्रकाश आचार्यले बताए । ‘यो एप्लिकेशनले श्रमिक वर्गको उत्थान र समृद्धिमा पहल गर्ने छ,’ उनले भने, ‘नेपालमै रोजगारीको अवसर सिर्जना गर्ने, श्रमिकहरूको दक्षता र क्षमता बढाउन, उनीहरूको जीवनस्तरमा टेवा पुर्याउने प्रयास हो ।’ एप्लिकेशनमा सेवाप्रदायकले गरेको पोस्ट त्यस वरपरका ५ किलोमिटरसम्मका प्रयोगकर्तासामु नोटिफिकेशन पुग्नेछ ।
विदेशमा काम गरेर नेपाल आएका व्यक्तिलाई पनि उसको योग्यता अनुसार काम खोज्न सकिने उनले बताए । काठमाडौंमा अन्तबाट आएका विद्यार्थीहरू रोजगारी प्रदानमा प्राथमिकता दिनेछ ।
यो एप्लिकेशनमार्फत ‘होम ट्युसन’, केयरटेकर, कृषिजन्य काम, विद्युतसम्बन्धि, मेकानिकल, अकाउन्टेन र वित्तीय सेवा, डेलिभरी लगायत काम यो एप्लिकेशनमार्फत सेवा दिन र लिन सकिन्छ । यो पेसागत व्यवसाय तथा कामको सुविधाका लागि स्थापना गरिएको हो । यसमा सेवाग्राही र सेवा प्रदायकबीच नै आपसी समझदारीमा पारिश्रमिक तय हुने निर्देशक आचार्यले उल्लेख गरे ।
नेपालमा सेवा दिने व्यक्तिहरू बेरोजगार बस्नु पर्ने र सोही सेवा लिने व्यक्तिले भनेको बेला सेवा नपाउने समस्या छ । यो समस्यालाई समाधान गर्न सेवा लिने र सेवा दिनेबीच खाडल अन्त्य गर्न एप तयार गरेको निर्देशक आचार्यको भनाइ छ ।
शुभकामना व्यक्त गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले मंगलबार मंगल कार्य शुरू भएको बताए । अब श्रमदाता र श्रम गर्ने व्यक्तिबीच सजिलै मिलन हुने प्लेटर्फमको रूपमा आएको उल्लेख गरे । ‘रोजगारी पाउन व्यक्तिमा सीप हुनुपर्छ, किसानको छोरालले हलो जोत्न सिक्नैपर्छ’ उनले भने, ‘सीपयुक्त जनशक्तिलाई रोजगारीसँग जोड्न पिटिइ वर्क एप्लिकेशनले महत्वपूर्ण भूमिका खेल्ने छ ।’
बधाई तथा शुभकामना दिँदै हिमालय टेलिभिजनका कार्यकारी निर्देशक स्याम कंडेलले नेपालमा यो एप्लिकेशनको शुरूवात गर्नु शरानीय भएको बताए । ‘सेवाप्रदायक र सेवाग्राही एउटै प्लेटफर्ममा हुने हुँदा चाँहे अनुसारको काम र सम्पर्क हुनेछ,’ उनले भने, ‘यो प्लेटफर्म प्रवद्र्धन गर्न सधै हातेमालो गर्ने प्रतिवद्ध छौँ ।’ विश्वव्यापी रूपमा दक्ष जनशक्तिहरू नेपालबाट बाहिरीने सङ्ख्या बढ्दै गएको अवस्थामा स्वदेशमै क्षमता अनुसारको काम खोज्न यो एप्लिकेशन उपयोगी हुने उल्लेख गरे ।
यो एप सञ्चालनमा आएपछि कामको समानता र कोही खाली बस्नु पर्ने समस्या समाधान हुने कम्पनीको भनाइ छ । जसका कारण काममा सहजता, बेरोजगारी कम हुँदै जाने तथा आफूले चाहेको बेला आफ्नो सिप अनुसारको काम गर्न सक्ने सुविधा यो एपले दिने छ ।
शुरूमा यसमा सेवा प्रदायक व्यक्तिले प्लेस्टोरमा गएर पिटिई एप डाउनलोड गर्नु पर्ने हुन्छ । यसरी एप डाउनलोड गरेपछि सो एपमा आफ्नो कार्य विज्ञताको कागतपत्र राखेर रजिस्ट्रेसन गर्नु पर्नेछ । नेपाल भरीको लागि सञ्चालनमा ल्याएको एप्लिकेशनले नेपालमा विज्ञ तथा अर्धविज्ञ पेसाका व्यक्ति एवम् कामदारले चाहेको समयमा अब काम पाउने छन् ।