काठमाडौं, ७ फागुन । लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य भएको छ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले प्रदेशसभाको पाँचौं अर्थात हिउँदो अधिवेशन अन्त्य गरेका हुन् ।
नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम फागुन ६ गते मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी अधिवेशन अन्त्य गरिएको हो ।
प्रदेश सरकारको मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको थियो । सोही आधारमा प्रदेश प्रमुखको कार्यालयले प्रदेशसभामा सूचना पठाएको छ ।
गत पुस १६ गतेदेखि सुरु भएको अधिवेशनमा ११ पटक बैठक भएको थियो । प्रदेशसभाका सचिव दुर्लभकुमार पुनमगरका अनुसार अधिवेशनबाट लुम्बिनी अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान विधेयक र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक पारित भएको छ ।
यसअघि प्रदेश प्रमुखले प्रमाणीकरण नगरी फिर्ता पठाएका प्रदेश निजामती सेवा ऐन, २०८० लाई संशोधन गर्न बनेको विधेयक र स्थानीय निजामती सेवाको गठन, सञ्चालन तथा सेवाका शर्तसम्बन्धी विधेयक अधिवेशनबाट पारित भएको थियो ।