लाभांश वितरणको समयमा समेत बढेन शेयर बजार (भिडियो रिपोर्ट)
अनलाइनसमय |
१२ पुष २०८१
काठमाडौं, १२ पुस । धितोपत्र बजारमा सूचीकृत कम्पनीहरूलाई अहिले वार्षिक साधारणसभाको चटारो छ । कम्पनी ऐन अनुसार आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र साधारणसभा गरिसक्नुपर्छ, सोहीअनुसार कतिपय कम्पनीहरूले साधारणसभा गरिसकेका छन् भने अधिकांशले गर्दै छन् । यो क्रम पुस मसान्तसम्म जारी रहन्छ । कम्पनीले आर्जित आम्दानीबाट प्रतिफल बाँड्ने भएकाले लगानीकर्तालाई साधारणसभाले बेग्लै महत्व राख्छ । तर यस वर्ष कम्पनीहरूले आकर्षक लाभांश दिन सकेका छैनन् भने धेरैले लगानीकर्ताको हात खाली बनाउँदै छन् ।
विगतका वर्षमा कम्पनीहरूले लाभांश वितरण गर्ने समयमा शेयर बजारले गति लिने गथ्र्यो । तर यस वर्ष कम्पनीहरूको लाभांश क्षमता घटेकै कारण बजारमा उत्साह देखिएको छैन । साधारणसभा घोषणा गरेका कम्पनीहरूमा लाभांश वितरण नगर्नेको संख्या बढ्दै गएको छ । यसले लगानीकर्ताको लगानी मनोविज्ञान कमजोर बनेको छ ।
पछिल्ला वर्षमा सूचीकृत कम्पनीको लाभांश दरमा ह्रास आउन थालेको छ । विशेषगरी कोरोना महामारीपछि यो अवस्था बढेको छ । कम्पनीहरूको मुनाफा खुम्चँदा लाभांश दर पनि प्रभावित भएको हो । अहिले मुलुकको अर्थतन्त्र नै सुस्त हुँदा अन्य वित्तीय क्षेत्रजस्तै धितोपत्र बजारमा पनि त्यसको प्रभाव परेको छ ।
त्यसो त अहिले शेयर बजारमा घट्दो बैंक ब्याजदरको सकारात्मक प्रभाव समेत देखिएको छैन । विगतमा प्रायः ब्याजदर घट्दा शेयर बजार बढ्ने गथ्र्यो । अहिले बैंकमा मुद्दती निक्षेप र कर्जाको ब्याजदर घट्दै गए पनि शेयर बजारमा लगानी तानिन सकेको छैन ।
प्रस्तुत छ, हिमालय टेलिभिजनको बिहीवार प्रसारित वित्तीय शिक्षा कार्यक्रममा प्रस्तुत भिडियो रिपोर्ट ।