• अर्थ, ताजा समाचार

    कुल गार्हस्थ्य उत्पादनको ४३.६९ प्रतिशत पुग्यो सार्वजनिक ऋण

     36 Views
    कुल गार्हस्थ्य उत्पादनको ४३.६९ प्रतिशत पुग्यो सार्वजनिक ऋण

    काठमाडौं, ५ पुस । चालू आर्थिक वर्ष (आव) २०८१/८२ को पाँच महिनामा नेपालको सार्वजनिक ऋण २४ खर्ब ९२ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ, जुन कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को ४३ दशमलव ६९ प्रतिशत हो । असार मसान्तसम्ममा जीडीपीका आधारमा सार्वजनिक ऋणको हिस्सा ४२.६५ प्रतिशत थियो । राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार नेपालको आव २०८०/८१ को अनुमानित जीडीपी ५७ खर्ब ५ अर्ब छ ।

    सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार सरकारले मंसिरसम्ममा तिर्नुपर्ने आन्तरिक ऋण १२ खर्ब १७ अर्ब ६६ करोड रुपैयाँ रहेको छ, यो कुल गार्हस्थ्य उत्पादनको २१.३४ हो । गत आवको असारसम्ममा आन्तरिक ऋणको हिस्सा २०.७० प्रतिशत थियो ।

    त्यस्तै चालू आवको मंसिरसम्ममा सरकारको बाह्य ऋणको दायित्व १२ खर्ब ७४ अर्ब ७४ करोड रुपैयाँ पुगेका छ, जुन जीडीपीको तुलनामा २२.३५ प्रतिशत हो । गत आवको असारसम्ममा यस्तो ऋणको हिस्सा २१.९५ प्रतिशत थियो ।

    रु.करोडमा

    कार्यालयका अनुसार चालू आवको मंसिरसम्ममा सरकारले आन्तरिक र बाह्य ऋण गरी १ खर्ब ७० अर्ब ५९ करोड रुपैयाँ भुक्तानी गरिसकेको छ । सो अवधिमा सरकारले आन्तरिक ऋण १ खर्ब ४९ अर्ब ६६ करोड भुक्तानी गरेको छ, जसमध्ये सावाँ १ खर्ब २७ अर्ब २४ करोड र ब्याज २२ अर्ब ४२ करोड रुपैयाँ रहेको छ । यस्तै बाह्य ऋणतर्फ सावाँ १७ अर्ब ३१ करोड र ब्याज ३६ अर्ब १ करोड रुपैयाँ भुक्तानी गरेको छ । सरकारले चालू आवका लागि ऋण सेवा खर्चमा ४ खर्ब २ अर्ब बजेट विनियोजन गरेको छ । जसअनुसार सरकारले मंसिरसम्ममा वार्षिक बजेट विनियोजनको आधारमा ४२.३५ प्रतिशत ऋण भुक्तानी गरेको कार्यालयले जनाएको छ ।

    चालू आवको मंसिरसम्ममा सरकारले लिएको वार्षिक लक्ष्यको ३५ दशमलव १५ प्रतिशत मात्र ऋण प्राप्त गरेको छ । यस वर्षका लागि ५ खर्ब ४७ अर्ब ऋण उठाउने लक्ष्य लिइएकोमा मंसिरसम्ममा १ खर्ब ९२ अर्ब २९ करोड रुपैयाँ ऋण प्राप्त भएको छ, जसमध्ये आन्तरिक ऋण १ खर्ब ६६ अर्ब र १ अर्ब ८८ अर्ब ८७ करोड रुपैयाँ रहेको छ ।

     

    यसमा तपाइको मत

    Facebook Comment