कामाडौं, ४ मंसिर । चालू आर्थिक वर्ष २०८१/८२ को असोजसम्मा विदेशी विनिमय सञ्चिति करिब साढे २२ खर्ब पुगेको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको वित्तीय विवरणअनुसार चालू आवको तीन महिनामा विदेशी विनिमय सञ्चिति २२ खर्ब ३२ अर्ब २८ करोड पुगेको छ, जुन गत आवको असार मसान्तसन्त यता ९ दशमलव ४ प्रतिशतले वृद्धि भएको हो । गत आवको अन्तिममा यस्तो रकम २० खर्ब ४१ अर्ब १० करोड थियो ।
अमेरिकी डलरमा यस्तो सञ्चिति २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा २०८१ असोज मसान्तमा ८.७ प्रतिशतले वृद्धि भई १६ अर्ब ६० करोड पुगेको छ ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति ७.५ प्रतिशतले वृद्धि भई १९ खर्ब ८८ अर्ब पुगेको छ । गत आवमा यस्तो सञ्चिति १८ खर्ब ४८ अर्ब ५५ करोड थियो ।
बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८१ असार मसान्तमा १ खर्ब ९२ अर्ब ५५ करोड रहेकोमा चालू आवको असोजसम्ममा २६.९ प्रतिशतले वद्धि भई २ खर्ब ४४ अर्ब २७ करोड रुपैयाँ कायम भएको छ ।
२०८१ असोज मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१ दशमलव ९ प्रतिशत रहेको छ ।
चालू आवको तीन महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १७.६ महिनाको वस्तु आयात र १४.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिएको राष्ट्र बैंकले जनाएको छ ।
असोजसम्मा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन ३९.१ प्रतिशत, कुल आयात ३५.८ प्रतिशत र विस्तृत मुद्राप्रदायसँगका अनुपात ३०.९ प्रतिशत रहेका छन्। २०८१ असार मसान्तमा उक्त अनुपातहरु क्रमशः ३५.८ प्रतिशत, १०८.६ प्रतिशत र २९.३ प्रतिशत रहेका थिए ।