उपभोक्ता मुद्रास्फीति ४.८२ प्रतिशत

अनलाइनसमय |
४ मंसिर २०८१
उपभोक्ता मुद्रास्फीति ४.८२ प्रतिशत

काठमाडौं, ४ मंसिर । चालू आर्थिक वर्ष २०८१/८२ को असोजमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४ दशमलव ८२ प्रतिशत रहेको छ, जुन गत आवको सोही अवधिको तुलनामा २ दशमलव ६८ प्रतिशत विन्दुले कम हो । गत आवको असोजमा यस्तो मुद्रास्फीति ७ दशमलव ५० प्रतिशत रहेको थियो ।

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७ दशमलव १८ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३ दशमलव ४९ प्रतिशत रहेको छ । अघिल्लो वर्ष सोही अवधिमा यी समूहहरुको मुद्रास्फीति क्रमशः ८.४८ प्रतिशत र ६.८५ प्रतिशतले वृद्धि भएको थियो ।

चालू आवको असोजमा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत तरकारी उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क २५.१५ प्रतिशत, दाल तथा गेडागुडीको १० प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ९.५७ प्रतिशत र घ्यू तथा तेलको ४.९८ प्रतिशतले बढेको छ भने माछा तथा मासु उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १.१८ प्रतिशत, मरमसलाको ०.७९ प्रतिशत र चिनी तथा चिनीजन्य पदार्थको ०.७८ प्रतिशतले घटेको छ ।

त्यस्तै गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १०.४९ प्रतिशत, मदिराजन्य पेय पदार्थको ६.३२ प्रतिशत, कपडाजन्य तथा जुत्ताचप्पलको ६.१२ प्रतिशत र घरायसी उपकरणको ४.८८ प्रतिशतले बढेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस