काठमाडौं, २६ कार्तिक । नेकपा माओवादी केन्द्रले स्थानीय तहको उपनिर्वाचनमा एक्लै लड्ने निर्णय गरेको छ ।
आज बिहान अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले एक्लै चुनावी प्रतिस्पर्धा गर्ने निर्णय गरेको बैठकपछि प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।
उनका अनसुार आजको बैठकले सिफारिस भएर आएको उम्मेदवारको नाम अनुमोदन गरेको छ । अनुमोदनसँगै पार्टी पङ्क्तिलाई उपनिर्वाचनमा केन्द्रित हुन निर्देशन गरेको छ । बैठकले उपनिर्वाचनमा सफलता हासिल गर्ने योजना र कार्ययोजना पनि बनाइएको सापकोटाले बताए । मंसिर १६ गते स्थानीय तहको ४४ रिक्त पदमा उपनिर्वाचन हुँदैछ ।
त्यस्तै बैठकले पुस २ गते केन्द्रीय समितिको बैठक बस्ने निर्णय गरेको छ । जनपरिचालन गर्दै मंसिर मसान्तसम्म पालिका सम्मेलन र खबरदारी सभा एकैसाथ गर्ने निर्णय समेत भएको प्रवक्ता सापकोटाले जानकारी दिए ।