काठमाडौं, २५ कार्तिक । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई प्रहरीले आज पुनः अदालत पेश गर्दैछ । जिल्ला अदालतले रविमाथि अनुसन्धान गर्न दिएको १० दिनको म्याद सकिएसँगै उनलाई आज पुनः अदालतमा उपस्थित गराइन लागेको हो ।
यसअघि अदालतले रविमाथि अनुसन्धान गर्न कात्तिक २० गते १० दिनको म्याद थपको अनुमति दिएको थियो । कात्तिक १५ गतेदेखि गणना हुने गरी अदालतले अनुमति दिएको म्याद आज सकिएको हो । लामिछानेलाई यसअघि तीनपटक म्याद थप गराएर प्रहरीले अनुसन्धान गरेको थियो ।
पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा लामिछाने कात्तिक २ गते काठमाडौंस्थित पार्टीको केन्द्रीय कार्यालयबाट पक्राउ परेका थिए । सोही दिन राति पोखरा लगिए पनि शनिबार परेकाले उनलाई कात्तिक ४ गतेमात्रै अदालतमा उपस्थित गराइएको थियो ।
गोर्खा मिडियामार्फत सहकारीको रकम अपचलन भएको भन्दै सहकारी ठगी र दुई वा दुईभन्दा बढी समूह मिलेर रकम दुरुपयोग भएको भन्दै रविविरुद्ध संगठित अपराधको मुद्दा लगाइएको छ ।
सभापति पक्राउविरुद्ध रास्वपाले निरन्तर प्रदर्शन गर्दै आएको छ । आफ्ना सभापतिलाई राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरेर अनुसन्धान गरिएको रास्वपाको दाबी छ ।