• ताजा समाचार, शिक्षा तथा संस्कृति

    श्री विषंखु नारायण माध्यमिक विद्यालयमा बालबालिका शिक्षा सुधार गर्दै कोईका

     111 Views
    श्री विषंखु नारायण माध्यमिक विद्यालयमा बालबालिका शिक्षा सुधार गर्दै कोईका

    काठमाडौं, १४ कार्तिक । कोरिया इन्टरनेशनल कोअपरेशन एजेन्सी (कोईका) द्वारा परिचालीत कोरिया ओभरसिज भोलुन्टियर (केओभी) क्युंग ही लीले ललितपुर गोदावरीमा रहेको श्री विषंखु नारायण माध्यमिक विद्यालयमा बालबालिका शिक्षा सुधार सम्बन्धी परियोजना सफलतापूर्वक सम्पन्न गरेकी छिन् ।

    ली सेप्टेम्बर २०२३ मा उक्त विद्यालयमा नियुक्त भएकि थिइन् । उनले लेट्स प्ले टुगेदर इन दि प्ले ग्राउन्ड भन्ने शीर्षकको परियोजना सञ्चालन गरेकी थिइन् । यस परियोजना बाल विकास शिक्षामा सुधार ल्याउन शिक्षण तथा खेल सामग्री संकलन, बाल कक्षा सुधार, शिक्षक सुविधा व्यवस्थापन, खेलमैदान निर्माण लगायतमा केन्द्रित थियो । परियोजनाको मुख्य उद्देश्य खेल मार्फत सिकाइलाई प्रेरित गर्नु हो ।

    क्युंग ही लीले शारीरिक गतिविधि, कलासङ्गीत लगायतलाई बालबालिकाको शिक्षा प्रणालीमा समावेश गर्न जोड दिएकी छन् । यसले बालबालिकाको शारीरिक, मानसिक र सामाजिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने उनको विश्वास छ ।

    कोईका मार्फत आएको सहयोगको करिब १० हजार अमेरीकी डलर रकमबाट विद्यालयमा तीन फरक उमेर समूहका लागि छुट्टाछुट्टै खेलमैदान निर्माण गरिएको छ । पहिलो खेलमैदान बालकक्षादेखि कक्षा ३ सम्मका बालबालिकाहरूका लागि छ भने दोस्रो खेलमैदान कक्षा ४ देखि ७ सम्मका बालबालिकाका लागि निर्माण गरिएको छ । यसैगरी तेस्रो खेलमैदान कक्षा ८ देखि १० सम्मका विद्यार्थीका लागि तयार गरिएको छ ।

    परियोजनाको हस्तान्तरण कार्यक्रम २९ अक्टोबर २०२४ मा विद्यालयमा सम्पन्न भएको थियो । कार्यक्रममा कोरियाली राजदूत महामहिम ते यङ पार्क, कोईका नेपालका निर्देशक मूहोन कोङ लगायतको उपस्थिति रहेको थियो ।

    कार्यक्रममा राजदूत पार्कले क्युंग ही लीको कामको खुलेर प्रशंसा गरे । साथै उनले यसबाट बालबालिका शिक्षा सुधारमा मद्दत पुग्ने आशा गरेको बताए । सो अवसरमा नेपाल र कोरियाबीचको ५० औं कूटनीतिक सम्बन्धको वार्षिकोत्सव पनि मनाइएको छ ।

    कोईकाले स्थानीय स्तरमा सकारात्मक प्रभाव पार्न कोरियाली नागरिकलाई विभिन्न सरकारी संस्थाहरूमा पठाउने गरेको छ । यहाँ प्रत्येक स्वयंसेवकले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, एआई लगायत क्षेत्रमा १ वर्ष सेवा गर्छन् । हाल नेपालमा ७ जना यस्ता केओभी सरकारी कार्यालयमा कार्यरत छन् ।

     

    यसमा तपाइको मत

    Facebook Comment