काठमाडौं, ११ कार्तिक । प्रधानमन्त्री केपी शर्माले गैरआवासीय नेपाली संघ (एनआरएनए)भित्र राजनीति नगर्न आग्रह गरेका छन् । एआरएनले आइतबार काठमाडौँमा गरेको गैरआवासीय नेपाली दिवस र वार्षिक साधारणभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राजजीतिक दलका आआफ्नै संगठनहरु भए पनि संस्थाभित्र राजनीति नर्गन सुझाव दिएका हुन् ।
उनले सरकारको तर्फबाट सङ्घलाई कुनै हस्तक्षेप नहुने भएकाले स्वतन्त्र रुपमा काम गर्न आग्रह गर्दै भने, ‘म अहिले प्रधानमन्त्री छु, म देशको प्रधानमन्त्री हो । एमालेको मात्रै प्रधानमन्त्री होइन । राष्ट्रपति पनि त्यही हो, राष्ट्रपति दल विशेषको हुँदैन, राष्ट्रको प्रमुख हुन्छ । सभामुख, प्रधानन्यायाधीश सबै पद साझा पद हुन् । हामीले त्यस हैसियतले काम गर्ने हो । पोलिटिकल पार्टीका आफ्नै संगठनहरु होलान्, त्यल्ले आफ्नो काम आफैं गर्ला, यस संगठन भित्र पोलिटिकल ‘टग अफ वार’ नगरौं ।’
’एनआरएनएलाई राजनीतिक हस्तक्षेप र प्रयोगबाट बाहिरै राख्नुपर्ने आफूले लामो समयदेखि बताउँदै आएकोसमेत प्रधानमन्त्रीले ओलीले बताए ।
प्रधानमन्त्री ओलीले गैरआवासीय नेपालीको माग सम्बोधन गर्न संविधानमै गैरआवासीय नागरिकता उल्लेख गरेको बताए । अहिले गैरआवासीय नेपालीले नागरिकताको काम नभएको गुनासो गरेकाले त्यसलाई पनि सम्बोधन गर्ने उनले बताए । ‘यसको समस्याको समाधान कसरी गर्ने हो म भन्न चाहन्छु तपाईंहरुलाई तपाईंहरुले नै सुझाव गर्नुस्, योयो गरिदिनुस् भनेर, हामी गर्छौं’, उनले भने, ‘हामीलाई यसबाट न सावाँ बढाउनु छ न ब्याज कमाउनुछ ।’
यसैगरी प्रधानमन्त्री ओलीले विकासका लागि पूर्वाधार तयार भइसकेकाले एकजुट भएर काम गरेमा नेपालको विकास सम्भव हुने बताए । ‘नेपालमा विकासका लागि बाटा घाटा र आवश्यक पूर्वाधार बनेका छन् । अहिले दुर्गम भन्ने कुनै जिल्ला र भूभाग छैन । मिलेर काम गरेमा मुलुकलाई समृद्ध बनाउन सकिन्छ ।’, उनले भने ।