• खेलकुद, ताजा समाचार

    माल्दिभ्सलाई १३–० ले हराउँदै भुटान सेमिफाइनलमा

     97 Views
    माल्दिभ्सलाई १३–० ले हराउँदै भुटान सेमिफाइनलमा

    काठमाडौं, ८ कार्तिक । साफ महिला च्याम्पियनसिप २०२४ मा भुटानले माल्दिभ्सलाई १३–० ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको छ ।

    बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भुटानले माल्दिभ्सलाई १३–० को फराकिलो अन्तरले पराजित गरेको हो । यससँगै ३ अंक प्राप्त गरेको भुटान ७ अंक जोडेर समूह ‘बी’ को शीर्ष स्थानमा उक्लिएको छ । भुटानको फराकिलो जितमा देकी लाजोमले डबल ह्याट्रिक गरिन् ।

    समूहको अन्तिम खेलमा नेपालले आज साँझ साढे पाँच बजे श्रीलंकाविरूद्ध खेल्दैछ । आजै हुने घरेलु टोली नेपाल र श्रीलंकाबीचको खेलबाट सेमिफाइनल पुग्ने अर्को टोलीको टुङ्गो लाग्नेछ । दुई खेलबाट नेपालको ४ अंक छ भने श्रीलंकाको ३ अंक छ । नेपाललाई सेमिफाइनल पुग्न बराबरी नै पर्याप्त हुनेछ भने श्रीलंकालाई नेपाल विरुद्ध जित निकाल्नैपर्ने आवश्यकता छ ।

    भुटानले माल्दिभ्सलाई फराकिलो अन्तरले पराजित गरेकोले नेपालले समूह बी को विजेता बन्न श्रीलंकालाई कम्तीमा पनि ६ गोल अन्तरले पराजित गर्नुपर्नेछ । नेपालले श्रीलंकासँग बराबरी खेले वा ५ भन्दा कम गोलअन्तरमा विजयी भए भुटान समूह बी को विजेता बन्नेछ भने नेपाल उपविजेता बन्नेछ ।

    पहिलो खेलमा नेपाल र भुटानले गोलरहित बराबरी खेलेको थिया े। त्यसपछि भुटानले श्रीलंकालाई ४–१ ले पराजित गरेको थियो ।
    तीन खेलमा भुटानले १७ गोल गर्दा जम्मा १ गोल मात्र खाएको छ । नेपालले दुई खेलमा अहिलेसम्म ११ गोल गरेको छ । नेपालले माल्दिभ्सलाई ११–० ले पराजित गरेको थियो ।

    यसअघि नै समूह ‘ए’बाट बंगलादेश समूह विजेता र भारत उपविजेता बन्दै सेमिफाइनल पुगिसकेको छ । आइतबार सेमिफाइनलको दुबै खेल हुनेछन् ।

     

    यसमा तपाइको मत

    Facebook Comment