काठमाडौं, ७ कार्तिक सत्तारुढ दल नेपाली कांग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टीले विधिको शासनलाई अवमूल्यन र उपहास गरेको बताएको छ ।
संसदीय छानबिन समितिले कारबाही सिफारिस गरेकामध्ये एक रास्वपा सभापति रवि लामिछानेलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । तर, रास्वपाले भने राजनीतिक प्रतिशोध राखेको भन्दै निरन्तर प्रदर्शन गर्दै आएको छ ।
कांग्रेसले बुधबार एक विज्ञप्ति निकालेर लामिछानेका समर्थकहरुले गरिरहेको हुल–हुज्जत र सडक प्रदर्शनले न्यायिक प्रकृयामा हुने प्रारम्भिक अनुसन्धानलाई नै प्रभावित गर्ने आपत्ति जनाएको छ ।
रास्वपाको विरोध प्रदर्शनले राज्यका तटस्थ निकायलाई आतङ्कित र त्रसित पारी अनुचित दवाव सिर्जना गर्ने कार्य भएको कांग्रेसको ठम्याइ छ । निष्पक्ष अनुसन्धान र न्यायिक निरुपणको कार्यलाई वाधा पु¥याउने, नागरिकको व्यक्तिगत स्वतन्त्रता, सामाजिक सद्भाव र स्थानीय शान्ति सुरक्षामा समेत खलल् पुर्याएको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
सहकारीको रकम अपचलन गरेको भनी गोर्खा मिडिया कम्पनीका सञ्चालकहरु जीबी राई, छविलाल जोशी र प्रबन्ध निर्देशक एवं तत्कालीन उपप्रधान तथा गृहमन्त्री लामिछाने विरुद्ध उजुरी परेपनि विगतमा छानविन अघि नबढेको कांग्रेसको दाबी छ ।
प्रचलित कानून बमोजिम कसुर ठहरिने कुनै पनि गतिविधिमा संलग्न जुनसुकै दल, पद वा हैसियतको व्यक्ति भएपनि अनुसन्धानको दायरामा आउनुपर्ने कांग्रेसले जनाएको छ । न्याय प्रणालीलाई स्वतन्त्र र निष्पक्ष बनाउन उत्तेजित र उच्छृङ्खल गतिविधि नगर्न कांग्रेसले रास्वपालाई सुझाव दिएको छ ।