• ताजा समाचार, देश, पर्यटन

    हवाई उडानमा नयाँ किर्तिमान, एकैदिन ५५९ उडान

     121 Views
    हवाई उडानमा नयाँ किर्तिमान, एकैदिन ५५९ उडान

    काठमाडौं, १५ असोज । सङ्घीय राजधानी काठमाडौं भित्रने र बाहिरिने सडकमार्ग अवरुद्ध भएपछि हवाई यात्रीको चाप बढेको छ । बिहीबार र शुक्रबार भएको अविरल वर्षाका कारण मुलुकका विभिन्न स्थानमा बाढीपहिरोले सडक सञ्जाल अवरुद्ध हुँदा काठमाडौँ आउने मुख्य सडकमार्ग अवरुद्ध छन् । सडक अवरुद्ध भएपछि तीन दिनयता हवाईयात्रीको चाप ह्वात्तै बढेको हो ।

    मुलुकको अति व्यस्त त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई उडानको नयाँ रेकर्ड कायम भएको छ । अन्तर्राष्ट्रिय विमानस्थलबाट सोमबार मात्रै आन्तरिक र अन्तर्राष्ट्रिय गरी ५५९ उडान भएको विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाले जानकारी दिए । उनका अनुसार आन्तरिकतर्फ हेलिकप्टरसहित २२७ उडान (डिपार्चर) र २२१ अवतरण (अराइभल) भएका छन् ।

    यस्तै अन्तर्राष्ट्रिय उडानतर्फ ५६ अवतरण र ५५ उडान भएका छन् । प्रवक्ता शेर्पाले एकै दिन सम्भवतः यो हालसम्मकै सर्वाधिक उडान भएको बताए ।

    यसअघि अघिल्लो वर्ष दशैंका बेला यस्तो उडान चाप थियो । विमानस्थलको विवरणमा आन्तरिक र अन्तर्राष्ट्रियमा गरी दैनिक पाँच सय हाराहारी उडान भएका थिए । अन्तर्राष्ट्रियमा दैनिक एक सय १३ देखि १५ उडान भएको थियो भने आन्तरिकतर्फ पनि दैनिक दुई सय ७० उडानमार्फत १४ हजार यात्रीले आवतजावत गरेका थिए ।

    विमानस्थलका प्रवक्ता शेर्पाका अनुसार आजका लागि आन्तरिकतर्फ १६९ अराइभल र १६९ डिपार्चर उडान तालिका तय गरिएको छ । यस्तै अन्तर्राष्ट्रियमा ५८ डिपार्चर र ५७ अराइभल हुने उनले बताए । राससको सहयोगमा

    यसमा तपाइको मत

    Facebook Comment